१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

टी–२० विश्वकपमा भारत–पाकिस्तान खेल हुने

पाकिस्तानले आइसिसी टी ट्वान्टी विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकप यी दुई शक्ति राष्ट्र भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा प्रतिस्पर्धा गर्ने भएका छन्।

पाकिस्तान सरकारद्वारा सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा हालसम्म प्राप्त उपलब्धि तथा मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्धको खेल खेल्न टोलीलाई अनुमति दिइएको उल्लेख गरिएको छ। पछिल्ला केही दिनयता पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी), बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बीच पाकिस्तानलाई भारतविरुद्धको खेल बहिष्कार नगर्न मनाउने उद्देश्यले तीव्र छलफल हुँदै आएको थियो। ट्वान्टी विश्वकपको सबैभन्दा आर्थिक रूपमा लाभदायक मानिने यो खेल बहिष्कारको धम्की फिर्ता हुनेमा आशावाद बढ्दै गएको थियो। सोमबार साँझ पीसीबी अध्यक्ष मोहसिन नक्वीले भारतविरुद्धको खेलबारे २४ देखि ४८ घण्टाभित्र निर्णय आउन सक्ने बताएका थिए। 

त्यसको केही मिनेटअघि आईसीसीले पनि वक्तव्य जारी गर्दै भारत भ्रमण गर्न अस्वीकार गरेपछि टी ट्वान्टी विश्वकपबाट बाहिरिएको बंगलादेशप्रति आफ्नो धारणा केही नरम बनाएको संकेत दिएको थियो। आइसीसीले बंगलादेशमाथि कुनै पनि जरीवाना नलगाइने स्पष्ट पनि पारेको छ। 

बंगलादेशलाई २०२८–२०३१ चक्रअन्तर्गत थप एक आइसीसी प्रतियोगिताको आयोजना अधिकारसमेत प्रदान गरिएको जनाएको थियो। यसपछि बिसिबीले पिसिबीको समर्थनप्रति धन्यवाद दिँदै भारतविरुद्धको खेलमा सहभागी हुन आग्रह गरेको थियो। आइतबार बीसीबी अध्यक्ष अमिनुल इस्लाम र आईसीसी निर्देशक इमरान ख्वाजा पीसीबीसँग वार्ताका लागि लाहोर पुगेका थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बंगलादेशलाई विश्वकपबाट हटाइएपछि त्यसको समर्थनमा भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय गरिएको बताएका थिए।

आइसीसी बोर्ड बैठकमा बंगलादेशलाई हटाउने निर्णयविरुद्ध मतदान गर्ने बीसीबी बाहेक पीसीबी मात्र थियो। नक्वीले उक्त निर्णयलाई लिएर आईसीसीले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाउँदै बंगलादेशमाथि अन्याय भएको टिप्पणी गरेका थिए। यही विषय आईसीसीसँगको छलफलमा प्रमुख एजेन्डा बनेको थियो र पीसीबीले बहिष्कारको निर्णय फिर्ता लिनु बंगलादेशका लागि कुनै न कुनै किसिमको न्याय सुनिश्चित हुनुपर्ने सर्तसँग जोडेको थियो।

प्रकाशित: २७ माघ २०८२ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App