आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ को आफ्नो पाँचौ सिरिजको अन्तिम खेलमा नेपालले युएईसामु २४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईमा टस जितेर युएईले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार पारेको हो। नेपालका लागि भीम सार्कीले ४८, कुशल मल्लले ४५, दीपेन्द्र सिंह ऐरीले ३७, आसिफ शेखले ३४ र आरिफ शेखले ३० रन बनाए । रोहित पौडेल, कुशल भुर्तेल, नन्दन यादव र करण केसी दोहोरो अंकको स्कोर नगर्दै बाहिरिएको नेपालको इनिङ्समा नटआउट रहँदै सन्दीप लामिछानेले १५ रनको योगदान गरे ।
नेपालले अन्तिम ५ ओभरमा दुई विकेट गुमाएर ४९ रन जोडेको थियो ।
युएईका लागि ध्रुब परासर, महमुदुल्लाहा जवादुल्लाहा र जुनैद सिद्धिकीले समान २ विकेट लिए । जाहिद अलीको नाममा एक विकेट रह्यो ।
जारी सिरिजमा नेपालले यसअघिका तीनै खेलमा हार ब्यहोरेको छ । अमेरिकाले चारै खेलमा जित निकालेको छ भने युएईले नेपाललाई पराजित गरेको थियो । ८ टोली सहभागी लिग २ को २४ खेलबाट ३६ अंकमा अमेरिका शीर्ष स्थानमा छ भने १९ खेलबाट नेपाल १२ अंकमा सातौं र ८ अंकमा युएई पुछारमा छ ।
प्रकाशित: १९ कार्तिक २०८२ १५:१२ बुधबार





