१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

आइसिसी टी ट्वान्टी विश्वकप: नेपालको नयाँ इतिहास कोर्ने लक्ष्य

नयाँ इतिहास कोर्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली इङ्ल्यान्डविरुद्ध खेल्दै छिमेकी राष्ट्र भारतमा सुरु भएको आइसिसी टी ट्वान्टी विश्वकपको यात्रा सुरु गर्दै छ।

समूह ‘सी’ को नेपालले आफ्नो पहिलो खेल मुम्बईको क्रिकेट वाङ्खडे स्टेडियममा खेल्दै विश्वकपमा तेस्रो सहभागिता प्रारम्भ गर्नेछ। लामो समयदेखि यो मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट हुन पाएको छैन। सन् २०२५ को फेब्रुअरीमा इङ्ल्यान्ड र भारतले नै यो मैदानमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला इङ्ल्यान्ड ९७ रनमा नै अलआउट भएको थियो। त्यसपछि पहिलोपल्ट इङ्ल्यान्डले यस मैदानमा खेल्दै छ। नेपालका लागि भने यो मैदान नौलो हो। साथै विश्व क्रिकेटको जन्मदाता राष्ट्र इङ्ल्यान्डसँग पनि पहिलोपल्ट नेपालले खेल्दै छ। इङ्ल्यान्ड टी ट्वान्टी फरम्याटको उत्कृष्ट टोलीको रूपमा चिनिन्छ।

इङ्ल्यान्ड विश्वकप क्रिकेटमा सधैं दाबेदार टोलीका रूपमा रहँदै आएको छ। पछिल्ला वर्ष सीमित ओभरको क्रिकेटमा इङ्ल्यान्डले धेरै फड्को मारेको छ। इङ्ल्यान्ड यो फरम्याटको दुई पटकको विश्वकप विजेता टोली हो। सन् २०१० मा पहिलो पटक विश्वकप जितेको इङ्ल्यान्डले सन् २०२२ मा दोस्रो पटक उपाधि उचालेको थियो। त्यो सफलतामा अर्को ट्रफी थप्ने आशामा इङ्ल्यान्डको टोली छ।

इङ्ल्यान्डका स्टार विल ज्याक्सले नेपालसँगको खेलले विश्वकपमा मुमेन्टम दिने भएकाले धेरै महत्त्वपूर्ण हुने बताएका छन्। ‘पक्कै पनि पहिलो खेल अत्यन्तै महत्त्वपूर्ण हुन्छ। विश्वकपका हरेक खेल महत्त्वपूर्ण हुन्छन्। सुरुदेखि नै लय समात्नु जरुरी छ। यहाँ धेरै गल्ती गर्ने अवसर हुँदैन र समूहका अन्य खेल पनि महत्त्वपूर्ण छन्,’ उनले भने।

इङ्ल्यान्ड नेपाललाई बलियो प्रतिद्वन्द्वीका रूपमा लिँदै खेल्नेछ। उनले पछिल्ला केही वर्ष नेपाली क्रिकेट निकै अघि बढेको पनि उल्लेख गरेका छन्। ‘विश्वकपमा २० टोली सहभागी छन्। नेपालले पछिल्लो समय धेरै विकास गरिरहेको छ। विश्वकपमा टोलीको संख्या बढाउनु क्रिकेटको विकासका लागि सकारात्मक कदम हो। पहिलोपल्ट विश्वकप खेल्न पाउने टोलीका लागि यो खेलकै लागि उत्साहजनक विषय हो,’ उनले भने।

इङ्लिस टोलीको सबैभन्दा ठूलो पक्ष आक्रामक क्रिकेट हो। इङ्ल्यान्डको टोलीमा विश्वस्तरीय ब्याटर, अलराउन्डर र बलरहरूको सन्तुलन छ। जोश बटलर, फिल साल्ट, साम करन र ह्यारी ब्रुकजस्ता खेलाडीले इङ्ल्यान्डको ब्याटिङ मजबुत बनाएका छन्।

बलिङमा जोफ्रा आर्चर, लुक उड र आदिल रासिदजस्ता स्पिनरले नेपाली ब्याटरमाथि दबाब बनाउन सक्छन्। इङ्ल्यान्डजस्तो अनुभवी र शक्तिशाली टोलीविरुद्ध खेल्नु नेपालका लागि ठूलो अवसर पनि हो। विश्वकपजस्तो मञ्चमा यस्ता टोलीसँगको प्रतिस्पर्धा नेपाली खेलाडीका लागि सिकाइ र आत्मविश्वास बढाउने अवसर पनि हो तर यसपल्ट नेपाली टोली सिकाइभन्दा पनि जित निकाल्न कडा चुनौती दिने लक्ष्यमा हुनेछ। विश्वकपअघि दुई खेलमा जित निकाल्दा नेपाली टोलीको ब्याटिङमा सुधारिएको संकेत देखिएको छ। छिट्टै विकेट जाँदा बनेका साझेदारी र धैर्यपूर्वक गरेकोे ब्याटिङले विश्वकपमा नेपाली टोलीले राम्रो गर्ने आशा गरिएको छ। नेपालका कप्तान रोहित पौडेल पनि यस विश्वकपलाई सहभागितामा मात्र सीमित नराखी विशेष बनाउने प्रतिक्रिया दिए।

‘यो विश्वकप हाम्रा लागि धेरै महत्त्वपूर्ण छ। लामो समयपछि दोस्रो विश्वकप खेल्यौं। यसपल्ट लगातार विश्वकप खेलेका छौं। पछिल्लो विश्वकपमा टेस्ट राष्ट्रसँग जितनजिक पुग्नु र सारजाहमा वेस्ट इन्डिजविरुद्धको जितले हामीमा आत्मविश्वास बढेको छ। त्यसैले यसपल्ट विश्वकप विशेष बनाउन चाहन्छौं,’ रोहितले भने।

यो विश्वकपमा सुपर आठमा पुग्ने लक्ष्य रहेको उनले स्पष्ट लक्ष्य प्रस्तुत गरे। इङ्ल्यान्डविरुद्ध जित नभई बलियो टोलीविरुद्ध राम्रो प्रदर्शनले पनि नेपाली खेलाडीमा आगामी खेलमा आत्मविश्वास बढाउनेछ। विश्वकपको दसौं संस्करण केवल क्रिकेट प्रतियोगिता होइन नेपाली समर्थकका लागि एक भावनात्मक आस्था हो। यो विश्वकपको इतिहास १९ वर्ष पुरानो छ। जहाँ नेपालले तेस्रोपल्ट मात्र प्रतिस्पर्धा गर्न सकेको छ।

पछिल्ला दुई सहभागिता नतिजामुखी बन्न सकेन। यसपटक लक्ष्य आत्मविश्वासले भरिएको छ। अनुभवले परिपक्व बनेको र इतिहास बदल्ने अठोटसहित नेपाली खेलाडी आइतबार वाङ्खडेको मैदानमा उत्रँदै छन्। जहाँ नेपाली टोलीको १२औं खेलाडी ‘दर्शक’ को साथ पाउने आशा छ। नेपालले सन् २०१२ मा पहिलोपट विश्वकप खेल्दा त्यो सहभागिता आफैंमा  जितसरह थियो। सीमित स्रोत, कमजोर संरचना र अन्तर्राष्ट्रिय अनुभवको अभावबीच नेपाली खेलाडीले विश्व मञ्चमा पाइला टेकेका थिए। त्यसपछि फेरि विश्वकप खेल्न नेपालले १० वर्ष लामो प्रतीक्षा गर्नुपर्‍यो। त्यो प्रतीक्षा कवल समयको होइन, धैर्य, संघर्ष र निरन्तर अभ्यासको थियो। तर दोस्रो सहभागितापछि तेस्रो विश्वकपसम्मको यात्रा भने फरक रह्यो। वेस्ट इन्डिजविरुद्ध युएईमा पाएको जितले नेपाली टोलीले आफूलाई प्रमाणित पनि ग¥यो।

आइसिसीको पूर्ण सदस्य राष्ट्र बंगलादेशले भारतीय भूमिमा खेल्न अस्वीकार गरेपछि समूह ‘सी’ को संरचना नै फेरिएको छ। नेपाल समूह ‘सी’ मा छ। जहाँ दुई पटकका विश्वकप च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजजस्ता शक्ति राष्ट्रसँगै स्कटल्यान्ड र इटाली छन्। त्यसैले यो समूहबाट सुपर आठमा पुग्ने नेपालको सम्भावना सहज भने छैन। आइसिसीले बंगलादेशको स्थानमा स्कटल्यान्ड समावेश गरेको छ। यसपछि विश्वकप थप विवाद र बहसको केन्द्रमा आयो। पाकिस्तानले पनि भारतसँग हुने खेल बहिष्कार गर्दै विश्व क्रिकेट राजनीतिक द्वन्द्वमा फसेको प्रमाणित गरिदियो। ठूला राष्ट्रहरू राजनीति र प्रतिष्ठाको लडाइँमा छन्।

त्यहाँ नेपालजस्तो एसोसिएट राष्ट्र इतिहास बनाउने लक्ष्यमा छ। समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। यही लक्ष्यमा नेपाली टोली केन्द्रित छ। इङ्ल्यान्ड क्रिकेटको जन्मभूमि हो भने वेस्ट इन्डिज छोटो फरम्याटको सम्राट मानिन्छ। यी दुई टोलीलाई चुनौती दिन नेपाललाई आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्नेछ। सानो गल्तीले पनि ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। तर, यी दुईमध्ये एक टोलीलाई हराउन सके त्यो जित नेपाली क्रिकेटका लागि विश्वकप जितेसरह हुनेछ। यस्तो जितले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउनेछ। विश्वका फ्रेन्चाइज लिगहरूमा नेपाली खेलाडीप्रतिको दृष्टिकोण बदल्नेछ।

भारतीय पिच र नेपाली आत्मीय

भारतमा तय विश्वकपमा नेपाल छनोट हुनु अर्को महत्त्वपूर्ण पक्ष हो। किनकि भारत धेरै नेपालीहरूको कर्मभूमि मानिन्छ। लाखौं नेपाली भारतमा बसोबास गर्छन्। नेपालको खेलमा ती नेपालीको साथ खेलाडीले पाउने आशा गरिएको छ। सीमा जोडिएको देशमा विश्वकप हुँदा हजारौं नेपाली समर्थक मैदानसम्म पुग्नेछन्। उनीहरूको हुटिङ, झन्डा र नाराले नेपाली टोलीका लागि ‘१२औं खेलाडी’ को भूमिका निर्वाह गर्नेछन्। नेपाली क्रिकेटका धेरै स्टार खेलाडीहरू सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र कप्तान रोहित पौडेलले भारतमा क्रिकेट सिकेका हुन्। भारतीय पिच उनीहरूका लागि नयाँ होइन। किनकि उनीहरूको आत्मीयता यहाँको पिचमा छ। त्यसले खेलाडीमा थप आत्मविश्वास बढाउन सक्छ।

प्रकाशित: २५ माघ २०८२ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App