राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेकाले त्यसको प्रतिवाद गर्नुपरेको बताएका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विरोधीहरूले टुच्च-टुच्च घोचिरहने बानी नत्यागेसम्म आफूले पनि जवाफ दिइरहने चेतावनी दिए।
आफूलाई संयमित हुन सुझाव दिनेहरूप्रति लक्षित गर्दै लामिछानेले आफूलाई ‘रवि लामिछाने’ भएको नाताले चुप लागेर बस्न नसक्ने बताए। लामिछानेले भने, ‘मलाई टुच्च-टुच्च नघोचे त म चुप लाग्थेँ, तर घोचिरहन्छन्, दिइरहनुपर्छ नि।’
उनले आफूलाई धेरै नबोल्न र तिखो टिप्पणी नगर्न सुझाव आउने गरेको भन्दै व्यंग्यात्मक शैलीमा जवाफ फर्काए। ‘मलाई धेरै नबोल, अलि तिखो नबोल, चर्को नबोल, गालीगलौज नगर पनि भन्छन्,’ लामिछानेले भने, ‘तर म परेँ रवि लामिछाने, अलिअलि नघोची हुँदैन।’
लामिछानेले प्रमाणको रटान लगाउनेहरूलाई समयले नै जवाफ दिएको जिकिर गरे। उनले भने, ‘ममाथि प्रमाण छ भनिएको आज ६५८ दिन भएछ।’ उनले यतिका दिनसम्म पनि प्रमाण नभेटिनुले आरोपहरू निराधार भएको पुष्टि गरेको दाबी गरे।
विगतमा आफूलाई घेराबन्दीमा पारिँदाको क्षण सम्झिँदै उनले भने, ‘बेडरुमभित्र छिरेर बुट बजार्दै मेरो अन्तिम इच्छा के हो भनेर सोधिएको थियो। मैले त्यसबेला जवाफ दिएको थिइनँ।’
लामिछानेले चितवनका जनतालाई अन्तिम इच्छा २१ गतेको मतपत्रमा देखाइदिन आग्रह गरे। उनले विरोधीहरूको प्रहारलाई मतपत्रमार्फत जवाफ दिन अपिल गर्दै जनताको साथले नै आफूलाई लड्ने शक्ति दिएको सुनाए।
प्रकाशित: १५ फाल्गुन २०८२ १६:४९ शुक्रबार





