वल्डलिंक कम्युनिकेसनकाे सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत आर्थिक सहयोग तथा Engineers Without Borders सँगको सहकार्यमा आयोजित ‘I Jatra’ कार्यक्रम सिमराको श्री नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालय मा उत्साहपूर्वक सम्पन्न भएको छ।
‘iLab’ परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले प्रदर्शनी तथा बिक्री मेला स्वरूप ‘I Jatra’ आयोजना गरिएको हो।
कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार तथा खेल गतिविधिसम्बन्धी सिर्जनात्मक उत्पादन र सेवा प्रस्तुत गरेका थिए।
करिब छ महिनाअघि विद्यार्थीहरूले iLab तालिम लिएका थिए। तालिमपछि निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र समूहगत कार्यको आधारमा ‘I Jatra’ आयोजना गरिएको विद्यालयले जनाएको छ।
विगत दुई वर्षदेखि वल्डलिंकको CSR कार्यक्रमअन्तर्गत iLab ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ। यसअघि ललितपुर र दार्चुलामा ‘I Jatra’ सम्पन्न भइसकेको थियो भने सिमरामा यस पटक आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै वल्डलिंककी CSR निर्देशक अनुपा भण्डारी जालानले ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिने अवस्थालाई उल्लेख गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले विद्यार्थीलाई किताबीय ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीपमा रूपान्तरण गर्नु समयको माग भएको बताइन्। उनले स्थानीय सरकार र सरोकारवालाले विद्यार्थीका उत्पादनको प्रचार–प्रसार, बजारीकरण र व्यवसायीकरणमा सहयोग गर्नुपर्नेमा जोड दिइन्।
यस्तो सहकार्यले विद्यालयस्तरबाटै उद्यमशील संस्कृति विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने विश्वास व्यक्त गरिन्। कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्पादन निर्माणदेखि बिक्रीसम्म प्रत्यक्ष अनुभव प्राप्त गरेका छन्। यसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र टोलीमा काम गर्ने दक्षता अभिवृद्धि भएको जनाइएको छ। आफ्नै उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसरले आत्मविश्वास बढाउनुका साथै बजारको माग र ग्राहक व्यवहार बुझ्ने व्यावहारिक ज्ञानसमेत प्राप्त भएको सहभागीहरूको भनाइ छ।
३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको वल्डलिंकले पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशित: १५ फाल्गुन २०८२ १६:५७ शुक्रबार





