आयोजक काष्ठमण्डप ‘ए’ ले सोमबार काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
मण्डिखाटारस्थित आफ्नै हातामा भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआइटिएमलाई २–० गोलले पराजित गर्यो। दुवै गोल प्रशान्त मेन्याङ्बो लिम्बूले गरे। त्यसअघि सोमबारै भएको सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० तथा एआइटिएमले द सेलिब्रेसन को एडलाई २–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।
तेस्रो स्थानका लागि भएको खेलमा सेलिब्रेसनले काष्ठमण्डप ‘बी’ लाई ३–१ गोलले पन्छायो। शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।
काष्ठमण्डपका इसिए इन्चार्ज सुन्दर बुढाथोकीका अनुसार फाइनलमा दुई गोल गरेका प्रशान्त उत्कृष्ट खेलाडी र उपाधि विजेता टोलीकै प्रभात देवकोटा उत्कृष्ट गोलरक्षक घोषित भए। दुवैले जनही दुई हजार पाँच सय नगद पुरस्कार पाए।
विजेतालाई नेपालस्थित मलेसिया दूतावासका प्रतिनिधि मोहम्मद फिरदाउस अज्मान, स्टडी प्लसका संस्थापक निर्देशक उमेश अधिकारी, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल डा. शिवा थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा भएको दुईदिने प्रतियोगितामा आयोजकको २ सहित ८ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: १२ फाल्गुन २०८२ ०६:४९ मंगलबार





