१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङका सबै उम्मेदवारले खोले बैंक खाता

प्रतिनिधि सभाको निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन्। यहाँ १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। 

आचारसंहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार कतिपय उम्मेदवारले आफ्नै नाममा र कतिपयले आफ्ना आधिकारिक प्रतिनिधिका नाममा चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका हुन्। ‘प्रतिस्पर्धामा रहनु भएका सबै उम्मेदवारले बैंक खातामार्फत चुनावी खर्च गर्नेगरी खाता खोल्नु भएको छ, यो सकारात्मक पक्ष हो,’ गिरीले भने।

राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। कार्यविधिको व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढीको कुनै पनि आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंकमार्फत नै गर्नुपर्नेछ।

नेपाली नागरिक वा संगठित संस्थाबाट प्राप्त हुने स्वेच्छिक सहयोगलाई पारदर्शी बनाउन कार्यविधिमा रसिदको व्यवस्था गरिएको छ। निर्वाचन आचारसंहिताको दफा १६ ले निर्दिष्ट गरे बमोजिम खर्चको विवरण र बिल भरपाई तोकिएको समयभित्र आयोगमा बुझाउनुपर्नेछ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ताप्लेजुङका उम्मेदवारले खर्च गर्न पाउने अधिकतम् रकम ३३ लाख रुपैयाँ रहेको छ। निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यसपटक चुनावी खर्च प्रयोजनका लागि उम्मेदवार वा उनका आधिकारिक प्रतिनिधिको बैंक खाता अनिवार्य गरेको हो।

ताप्लेजुङमा नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा एमालेबाट क्षितिज थेबे, नपाली कम्युनिस्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरेन्द्र श्रेष्ठ उम्मेदवार छन्।

यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्रप्रसाद थापा, जनता समाजवादी पार्टी (जसपा) बाट अरुण लेछर्बो लिम्बू, नेपाल जनमुक्ति पार्टीबाट इन्द्र थलङ लिम्बू, श्रम संस्कृति पार्टीका सन्तोष राई, उज्यालो नेपाल पार्टीबाट कीर्तिमान मादेन, जनता समाजवादी पार्टीबाट नेपालका सूर्य तमु र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट नरपति पौडेल उम्मेदवार रहेका छन्।

प्रकाशित: १२ फाल्गुन २०८२ १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App