खोटाङको हलेसी तुवाचुङ नगरपालिकाद्वारा आयोजित ‘छैटौँ हलेसी तुवाचुङ माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८२’ बुलापन्थे मावि धितुङले चुमेको छ। बुलापन्थेले ७ स्वर्ण, ३ रजत र ६ काँस्य पदकसहित रनिङ सिल्ड हात पारेको हो।
नगरपालिकाभित्र सञ्चालित १२ सामुदायिक तथा एक संस्थागत गरी १३ विद्यालयको सहभागिता रहेको प्रतियोगिता पुस २६ गते सुरु भएर २८ गते अवेर सम्पन्न भएको हो। अर्खौले विजुलेस्थित साल्पा खेलमैदानमा सञ्चालित प्रतियोगिता हलेसी तुवाचुङ नगरको प्रायोजन, नगर खेलकुद विकास समितिको आयोजना तथा स्थानीय सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको हो।
प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित दुर्छिम मावि दोस्रो भएको छ भने ५ स्वर्ण, ३ रजत र १ काँस्य पदकसहित पिपलडाँडा देवीस्थान मावि मंगलटार तेस्रो भएको छ। व्यवस्थापकीय जिम्मेवारी पाएको दुर्छिम माविका प्रधानाध्यापक नविन चामलिङका अनुसार पिपलडाँडा यसअघि लगातार ३ वर्ष सिल्ड विजेता स्कुल हो।
लगातार ३ वर्ष उपाधि जितेर सिल्ड पच गरेको पिपलडाँडा यसवर्ष भने तेस्रोमा चित्त बुझाउन बाध्य भएको उनले बताए। सिल्ड पच गरेका कारण यसवर्षको प्रतियोगिता गराउन नगरपालिकाले नयाँ सिल्ड खरिद गर्नु परेको छ। नयाँ सिल्ड भने बुलापन्थे माविले हात पार्न सफल भएको छ।
प्रतियोगितामा एथ्लेटिक्सबाहेक भलिबल र कबड्डीमा पनि स्पर्धा गराइएको थियो। प्रतियोगिता १५ इभेन्टमा ३० स्वर्ण, ३० कास्य र ३० रजत पदकको लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा पालिका भरीका १२ सामुदायिक र एक संस्थागत गरी १३ विद्यालयले सहभागिता जनाएका थिए।
यस्तै, ३ स्वर्ण, ५ रजत र २ कास्य पदकसहित महेन्द्रोदय मावि चौथो भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत, २ काँस्यसहित लक्ष्मी मावि बडहरे पाचौँ भएको छ। ज्योति मावि राजापानीले २ स्वर्ण, ७ रजत र ५ काँस्य पदक पाउँदा च्यास्मीटार माविले २ स्वर्ण, ३ रजत र २ काँस्य पदक पाएको छ। त्यसैगरी १ स्वर्ण, ४ रजत र ४ काँस्य सरस्वती मावि अर्खौलेले पाउँदा जनता मावि सल्लेलाई १ स्वर्ण र १ प्राप्त भएको छ।
कालिका मावि बाहुनीडाँडा र मालिकादेवी मावि कदुवा समान ३–३ काँस्य पदकले चित्त बुझाउन बाध्य हुँदा एक मात्र संस्थागत विद्यालय हलेश्वर इङ्लिस बोर्डिङ हलेसीलाई एउटा काँस्य पदक प्राप्त भएको छ। प्रतियोगितामा दाम्ली मावि पदकविहीन हुनु परेको छ।
समापन समारोहमा नगर उपप्रमुख रमेशकुमार राउतले विजेता बुलापन्थे माविलाई २५ हजार नगद पुरस्कारसहित सिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरे। उपविजेता दुर्छिम मावि तथा तेस्रो हुने पिपलडाँडा माविलाई क्रमशः १५ हजार १० हजार नगदसाथ ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरियो।
नगर खेलकुद शाखा प्रमुख सुरेश निरौलाका अनुसार विधागत विजेता खेलाडी विद्यार्थीलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। नगरप्रमुख विमला राईले उद्घाटन गरेको प्रतियोगितामा विद्यालय र खेलाडी छात्रछात्राको उत्साहजनक सहभागिता रहेको निरौलाले बताए। हलेसीले हरेक वर्ष खेलमा सहभागी हुन आउने विद्यालयलाई दूरीका आधारमा यातायात, खाना र बासका लागि आवश्यक बजेट उपलब्ध गराउने गरेको छ।
यसवर्षको प्रतियोगिताका लागि चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमबाटै १५ लाख रकम विनियोजन गरेर राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गरिएको निरौलाले बताएका छन्।
प्रकाशित: ३० पुस २०८२ १३:०७ बुधबार




-600x400.jpg)
