फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणअघि सार्वजनिक गरिएको फिफाको अद्यावधिक विश्व वरीयतामा फ्रान्स पुनः शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि फ्रान्सले अर्जेन्टिना र स्पेनलाई पछि पार्दै नम्बर एक स्थान कब्जा गरेको हो।
फिफाले विश्वकपको प्रदर्शनलाई समेट्दै सार्वजनिक गरेको नयाँ वरीयताअनुसार साविक विजेता अर्जेन्टिना दोस्रो तथा स्पेन तेस्रो स्थानमा झरेका छन्। क्वार्टरफाइनलमा पुगेका आठ टोलीमध्ये छ टोली विश्व वरीयताको शीर्ष १० भित्र परेका छन्।
प्रशिक्षक डिडिए डेसचाम्प्सको नेतृत्वमा रहेको फ्रान्सले प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थानमा पुनरागमन गरेको हो। फ्रान्सले अब क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिल बाहिरिएपछि एक स्थान सुधार गरेको मोरक्को छैटौं स्थानमा पुगेको छ।
स्पेनले पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए पनि फ्रान्सको अंक वृद्धि भएपछि तेस्रो स्थानमा झरेको छ। स्पेनको क्वार्टरफाइनल प्रतिद्वन्द्वी बेल्जियम हो। अमेरिकामाथि ४–१ को जित निकालेको बेल्जियम एक स्थान सुधार गर्दै आठौं स्थानमा पुगेको छ।
यसपटक विश्व वरीयतामा सबैभन्दा ठूलो फड्को नर्वेले मारेको छ। एर्लिङ हालान्डको नेतृत्वमा रहेको टोली १२ स्थान सुधार गर्दै १९औं स्थानमा पुगेको छ। सन् १९९८ पछि पहिलोपटक विश्वकप खेलेको नर्वेले अन्तिम १६ मा ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो। हालान्डले चार खेलमा सात गोल गर्दै गोल्डेन बुटको दौडमा छन्। नर्वेले अब इङ्ग्ल्यान्डसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
साविक विश्व विजेता अर्जेन्टिनाले प्रतियोगितामा सबै खेल जिते पनि फ्रान्सको प्रभावशाली प्रदर्शनका कारण शीर्ष स्थान गुमाउँदै दोस्रो स्थानमा झरेको छ। यता कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराएर अन्तिम आठमा पुगेको स्विट्जरल्यान्ड पाँच स्थान सुधार गर्दै १४औं स्थानमा पुगेको छ। स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा अर्जेन्टिनाको चुनौती सामना गर्नेछ।
प्रकाशित: २५ असार २०८३ २०:१६ बिहीबार





-600x400.jpg)