टिआइए, गोल्डेनपिक र भ्याली पब्लिकले १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा शनिबार सम्पन्न प्रतियोगितामा टिआइए सिनियर ब्वाइज, गोल्डेनपिक जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन भएका हुन्। सिनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा टिआइएले न्युटनलाई ६७–६१ ले पराजित गर्यो। टिआइएका वर्दान थापाले २७ अंक जोडे।
जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले जेबी स्कुललाई २९–२१ ले हरायो। गोल्डेनपिकका अग्रज राईले १२ स्कोर गरे। सिनियर गल्र्सको उपाधि भिडन्तमा उपाधिको प्रबल दाबेदार भ्याली पब्लिकले केभिकेएसएसलाई २९–२२ ले हराउन सफल भयो।
भ्याली पब्लिककी दृष्य गुरुङले १० अंक जोडिन्। सिनियर ब्वाइजमा टिआइएका रोशन नगरकोटी, जुनियर ब्वाइजमा गोल्डेनपिकका फुर्वा शेर्पा र सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ मोस्ट भेलुएबल प्लेयर घोषित भए। सिनियर ब्वाइजमा न्युटनका युगेन लामा, जुनियर ब्वाइजमा ग्रिनल्यान्डका वियोन गुरुङ र सिनियर गल्र्समा केभीकेएसएसकी खुसी मितोक उत्कृष्ट थ्री प्वाइन्टर चुनिए।
सिनियर ब्वाइजमा न्युटनका उज्ज्वल श्रेष्ठ, जुनियर ब्वाइजमा जेबी स्कुलका गौरव ओली र सिनियर गर्ल्समा ग्रिनल्यान्डकी प्रसिद्धी भण्डारी सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे। विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष समेत रहेका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रहलाद खनाल, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी र ओडिसी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल नारायण रोकाले पुरस्कृत गरेका थिए।
प्रकाशित: १५ भाद्र २०८२ ०६:३२ आइतबार





