२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

फुटबलको महाभिडन्त आज: रियल म्याड्रिड भर्सेस बार्सिलोना

विश्व फुटबलकै सबैभन्दा ठूलो ‘राइभलरी’ मानिने ‘एल क्लासिको’ मा आज राति दुई स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन्। रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने यो खेल नेपाली समयअनुसार राति ९:०० बजे सुरु हुनेछ।

स्पेनिस ‘ला लिगा’ को शीर्ष स्थानमा रहेका दुई टोलीबीचको यो भिडन्तले उपाधि होडमा समेत महत्त्वपूर्ण प्रभाव पार्नेछ।

जाभी अलोन्सोको प्रशिक्षणमा रहेको रियल म्याड्रिड ९ खेलबाट २४ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने २ अंकले पछि रहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ। आजको जितले रियललाई बार्सिलोनामाथि ५ अंकको स्पष्ट अग्रता दिलाउनेछ।

लयमा रियल, चोटले थलिएको बार्सिलोना

रियल म्याड्रिड यस सिजन उत्कृष्ट लयमा देखिएको छ। लिगमा खेलेका ९ मध्ये ८ खेल जितेको रियलका लागि स्टार फरवार्ड केलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। १० गोलसहित उनी हाल ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। उनले गत सिजन बार्सिलोनाविरुद्ध ४ खेलमा ५ गोल गरेका थिए।

यता, बार्सिलोना भने प्रमुख खेलाडीहरूको चोटका कारण समस्यामा छ। स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ड्यानी ओल्मो, राफिन्हा र गाभी जस्ता महत्त्वपूर्ण खेलाडीहरू घाइते छन्।

यसैगरी, प्रशिक्षक हान्सी फ्लिक पनि रातो कार्डका कारण खेलमा अनुपस्थित रहनेछन्। यद्यपि, च्याम्पियन्स लिगको पछिल्लो खेलमा ओलम्पियाकोसमाथि ६-१ को सानदार जित निकालेको बार्सिलोना उच्च मनोबलका साथ मैदानमा उत्रनेछ।

गत सिजन बार्सिलोनाले रियल म्याड्रिडमाथि दबदबा कायम राखेको थियो। लिगका दुवै खेल र अन्य कप प्रतियोगितामा गरी बार्सिलोनाले रियललाई चार पटक पराजित गरेको थियो। तर, यसपटक बलियो लयमा रहेको रियल घरेलु मैदानमा उक्त हारको बदला लिने दाउमा हुनेछ।

प्रकाशित: ९ कार्तिक २०८२ १८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App