राजनीतिमा विजय–पराजय हुन्छ। तर राजनीति त्यतिमै सकिन्न। २०७४ सालको स्थानीय निर्वाचनमा २१ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित बनेकी रन्जु दर्शनाले यस पटक काठमाडौं क्षेत्र नंम्बर १ बाट सङ्घीय सांसदमा विजयी बनेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदबार बनकी रञ्जुले १५ हजार ४ सय ५५ मत प्राप्त गरेकी छन्। यहाँ कुल २९ हजार ७७४ मत खसेको थियो। उनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालाई पराजित गरेकी हुन्। थापाले ६ हजार ३६४ मत ल्याए।
दर्शना २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन्। विवेकशील अभियानमार्फत राजनीतिमा पाइला राखेकी दर्शनाले २०७४ सालको स्थानीय तह निर्वाचनमा २३ हजार बढी मत ल्याएकी थिइन्।
उनले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । तर उनले अपेक्षित मत प्राप्त गर्न सकिनन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १५:१६ शुक्रबार





