विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन गर्ने भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ४८ टोलीबाट थप १६ टोली समावेश गर्ने विषय सम्बन्धित समितिहरूमा छलफल हुने बताए।
स्विस सञ्चारमाध्यम आउटलेट ब्लूविनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले विश्वकपलाई अझ समावेशी बनाउन टोली संख्या बढाउने विकल्पबारे विचार गर्न सकिने बताए।
उनका अनुसार विश्वकप केवल युरोप र दक्षिण अमेरिकाका लागि नभई सम्पूर्ण विश्वका राष्ट्रहरूको प्रतियोगिता हुनुपर्छ।
‘विश्वकप आयोजना गर्दा यो सम्पूर्ण विश्वको लागि आयोजना गर्नु महत्त्वपूर्ण छ। यो केवल युरोप र दक्षिण अमेरिका मात्र होइन। त्यसैले प्रतियोगितालाई अझ समावेशी बनाउने विषयमा अध्ययन र छलफल गरिनेछ। प्रत्येक राष्ट्रलाई विश्वकपमा भाग लिने सपना देख्न अनुमति दिनुपर्छ’,इन्फान्टिनोले भने।
सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोली सहभागी हुँदै आएका थिए। हाल अमेरिका, क्यानडा र मेक्सिकोमा जारी २०२६ विश्वकप पहिलो पटक ४८ टोलीको ढाँचामा आयोजना गरिएको हो।
इन्फान्टिनोले ४८ टोलीको ढाँचालाई सफल प्रयोगको रूपमा व्याख्या गर्दै सबै महादेशका टोलीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको बताए।
‘हरेक टोलीले उच्च स्तरमा खेले। प्रत्येक महादेशका टोलीहरूले गोल गरे र कम्तिमा एक अंक प्राप्त गरे’ उनले भने, ‘१० अफ्रिकी टोलीहरू मध्ये नौ नकआउट चरणमा पुगे। गत विश्वकपमा अफ्रिकाका केवल पाँच टोलीहरू थिए। यसले सबै टोलीहरूलाई समावेश गर्नु कति महत्त्वपूर्ण छ भनेर देखाउँछ।’
सन् २०३० को विश्वकप उरुग्वे, अर्जेन्टिना, पाराग्वे, स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना हुनेछ।
प्रतियोगिताका पहिलो तीन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् भने बाँकी खेलहरू स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन गरिनेछन्।
प्रकाशित: २९ असार २०८३ १३:२८ सोमबार





