५ आश्विन २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमामा सक्रिय बिमित ६० प्रतिशत मात्र

स्वास्थ्य बिमामा आबद्ध कुल बिमितमध्ये ६० प्रतिशतले मात्र सक्रिय रूपमा बिमा सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकले औंल्याएको छ। बोर्डका अनुसार हालसम्म कुल एक करोड सात लाख ४१ हजार ५३३ जना बिमामा आबद्ध छन्। तीमध्ये ६५ लाख २९ हजार २५१ जना सक्रिय बिमित छन्। सक्रिय बिमितको संख्याका आधारमा ठुलो संख्यामा बिमितले बिमा नवीकरण नगरेको देखिन्छ।

हाल कुल ३८ लाख ५७ हजार २७५ परिवार बिमामा आबद्ध भएकोमा २४ लाख पाँच हजार ७२ परिवार मात्र सक्रिय रहेको बोर्डको तथ्यांक छ। यो हिसाबले कुल जनसंख्याको २२ प्रतिशत मात्र बिमामा आबद्ध छन्। नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएयता अर्थात् १० वर्षको अवधिमा एक करोडभन्दा बढी मानिस बिमामा आबद्ध भएका थिए।

स्वास्थ्य बिमा बोर्डका प्रवक्ता डा. पवनकुमार साह भने बिमितको संख्या धेरै नघटेको दाबी गर्छन्। ‘त्यस्तो घटेको छैन। तीनतीन महिनाको चक्र हुन्छ। त्यसअनुसार हिसाब गर्दा सुरुमा लक्षित समूहको मात्र नवीकरण गरेको र लक्षित समूहको बिमा स्वतः नवीकरण हुने भएकाले कम देखिएको हो,’ उनी भन्छन्, ‘स्वास्थ्य बिमामा आबद्ध लक्षित समूहको संख्या मात्र १५ लाख छ।’

स्वास्थ्य बिमा नवीकरण नगर्नेहरूको संख्या पछिल्लो समय झन् कम देखिएको बोर्डका पूर्वनिर्देशक डा. सेनेन्द्रराज उप्रेती बताउँछन्। सुरुका वर्षमा बोर्डको निर्देशक रहेका उप्रेतीका अनुसार त्यतिबेला २५ प्रतिशत मात्र नवीकरण नगर्ने संख्या थियो। अहिलेको संख्या हेर्दा सक्रिय बिमितको संख्या घटेको अनुमान उनी गर्छन्।

बोर्डमा निर्देशक हुँदा बिमा सेवाको दायरा घटेपछि सक्रिय बिमित घटेको बताउने उप्रेतीका अनुसार निजी अस्पतालमा सेवा बन्द हुनु, बिमाको दाबी भुक्तानीमा समस्या तथा सेवाग्राहीको रेकर्डमा बायोमेट्रिक प्रणाली नहुँदा फर्जी सेवाग्राहीको बाहुल्य हुनुजस्ता कारणले बोर्डले निजी सेवा बन्द गर्न बाध्य भएको हो। यसले बिमाप्रति मानिसहरूको आकर्षण घटाएको उनको भनाइ छ।

नेपालमा पहिलेदेखि नै बिरामी हुँदा मात्र बिमामा आबद्ध हुने प्रवृत्तिका कारण पनि सक्रिय बिमितको संख्या बढ्न नसकेको उनी बताउँछन्। ‘केही वर्षदेखि सक्रिय बिमितको संख्यामा थोरै प्रतिशत मात्र तलमाथि छ। त्यसको कारण सेवा लिन मात्र बिमा नवीकरण गर्नेहरूको संख्या हो।’

डा. उप्रेतीको विश्लेषणमा हाल बिमा सेवा लिन जानेहरूले सहज, सुलभ र गुणस्तरीय सेवा नपाउनुका कारण बिमितको आकर्षण घटेको छ। ‘बिमाबाट सेवा लिन जाँदा अस्पतालमा भिडको सामना गर्नुपर्‍यो। बिमा सेवा लिनेलाई अस्पतालले दोस्रो दर्जाको सेवाग्राहीको व्यवहार गरेको भन्ने गुनासो आयो,’ उनले भने।

अस्पतालमा बिमामार्फत पाउनुपर्ने सबै औषधि उपलब्ध नहुनु पनि बिमितको आकर्षण घट्नुको कारण भएको उनको भनाइ छ। विद्यमान कमजोरीलाई सम्बोधन गरेर अघि बढे बिमा कार्यक्रमप्रति नागरिकको विश्वास बढ्ने डा. उप्रेतीले सुझाए।

स्वास्थ्य बिमा सेवा प्रणालीमै रहेका मुख्य तीन कारणले सक्रिय बिमितको संख्या अहिले पनि न्यून रहेको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्। बिमा ऐनअनुसार सरकारले सबै नागरिकलाई बिमामा अनिवार्य गर्न नसक्नु, प्रगतिशील बिमा शुल्क नहुनु र आधारभूत स्वास्थ्य सेवा पनि बिमाबाटै लिनुपर्ने स्थितिले बिमाप्रति आकर्षण बढ्न नसकेको उनको भनाइ छ।

वन्तका विचारमा सरकारले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र गुणस्तरीय बनाउन नसक्नुको परिणाम सामान्य बिरामी पनि बिमा प्रणालीमा आउनुपर्ने बाध्यता छ। यसको कारण अस्पतालबाट दिइने बिमा सेवा गुणस्तरीय बन्न सकेको छैन।

अर्कातिर बिमा कोष बलियो नभएका कारण सेवाप्रदायक संस्थालाई समयमा भुक्तानी गर्न नसक्नु र अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न नसक्नुले पनि समस्या उत्पन्न भएको वन्त बताउँछन्। वन्तका विचारमा बिमा सेवा भनेको हुनेबाट लिएर लक्षित वर्गलाई दिने र आवश्यक परेका नागरिकले सेवा लिने प्रणाली हो। तर नेपालमा सञ्चालित स्वास्थ्य बिमाले बजारमुखी प्रणाली लागु गरेकाले बिमा कोष सीमित बन्न पुगेको उनको भनाइ छ।

आम्दानीको क्षमताअनुसार हरेक नागरिकलाई बिमा शुल्क तोकेमा अहिलेको बिमा कार्यक्रम बलियो हुने उनको सुझाव छ। ‘बिमा बोर्डका कर्मचारी, लक्षित वर्गको खर्चसम्म पुग्ने गरी बिमा कोष बलियो हुनुपर्छ न कि सरकारी ढुकुटीबाट यी खर्च बेहोर्ने,’ उनले भने।

प्रकाशित: ५ आश्विन २०८३ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App