पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा १ हजार २ सय ९२ छात्रालाई एचपिभी खोप लगाउन थालिएको छ।
सोमबार र मंगलबार जिल्लाका ८४ खोप केन्द्रबाट कक्षा ६ मा अध्ययनरत १ हजार २ सय ५७ छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका ३५ छात्रालाई खोप लगाउन थालिएको हो। चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिकाका छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
खोप अभियानका लागि स्थानीय तहअनुसार खोप केन्द्र निर्धारण गरिएको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार सबैभन्दा बढी खोप केन्द्र चन्दननाथ नगरपालिकामा निर्धारण गरिएको छ। चन्दननाथमा १७ वटा खोप केन्द्रबाट छात्रालाई एचपिभी खोप लगाइँदैछ।
पातारासीमा १२, तिलामा ९ र गुठीचौरमा ६ वटा खोप केन्द्र निर्धारण गरिएको छ। त्यस्तै तातोपानी, कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा ८-८ वटा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।स्थानीय तहअनुसार चन्दननाथमा २ सय ४९, तातोपानीमा १ सय ८९, गुठीचौरमा १ सय १५, पातारासीमा १ सय ९६, तिलामा १ सय ४७, हिमामा १ सय २०, सिंजामा १ सय १८ र कनकासुन्दरीमा १ सय २३ छात्रालाई एचपिभी खोप लगाइँदैछ।
शतप्रतिशत साक्षरता घोषणा गरिएको जुम्लामा अझै १० वर्ष उमेर समूहका ३५ जना छात्रा विद्यालयबाहिर रहेको तथ्यांकले देखाएको छ। विद्यालय नजाने ती छात्रालाई समेत खोपको पहुँचमा ल्याउने गरी जनस्वास्थ्य सेवा कार्यालयले तयारी गरेको हो।
विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका छात्रामध्ये सबैभन्दा बढी १७ जना कनकासुन्दरी गाउँपालिकाका छन्। पातारासीमा १० जना र सिंजा गाउँपालिकामा ८ जना विद्यालयबाहिर रहेका छात्रा छन्।खोप अभियानका लागि एचपिभी खोप भाइयल १ हजार २ सय ९२ वटा, एडी सिरिन्ज १ हजार ४ सय १९ वटा, सेफ्टी बक्स ७६ वटा, खोप रजिष्टर ७६ वटा र खोप कार्ड १ हजार ४ सय १९ वटा तयारी गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८३ १०:४६ सोमबार





