गण्डकी प्रदेश सरकारले पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरवृद्धिको नवीकरण गर्नका लागि बार्गेनिङ भएको घुस काण्डको गण्डकी प्रदेश सरकार आफैँले पनि छानबिन गर्ने भएको छ।
गण्डकी सरकारले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहार्ने भएको छ। गण्डकी सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो घुस काण्डको छानबिन गर्न एक समिति बनाउनुका साथै अख्तियारलाई पनि छानबिनका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकले प्रदेश स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति वा अस्पताल स्तरोन्नतिको कानुनी व्यवस्था, अभ्यासलगायतका विषयमा छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले जानकारी दिए। उनका अनुसार समितिको सदस्यमा को को रहने छन् भन्ने खुलाइएको छैन भने समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले घुस काण्डमा मुछिएका स्वास्थ्य मन्त्रालयका सचिव बसौलाको जिम्मेवारी खोसेको छ। अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी खोसेर उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा काजमा हाजिर गराउने निर्णय भएको मन्त्री शेरचनले बताए।
मन्त्रिपरिषद बैठकले घुस बार्गेनिङमार्फत स्तरवृद्धिको अनुमति दिइएको पद्मनर्सिङ होमको नवीकरण गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ। मन्त्री शेरचनले भने, ‘सो विषय छानबिनको चरणमा रहेको हुँदा उक्त अनुमती कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने निर्णय बैठकले गरेको छ।’
सो ५० शय्याको अस्पताल स्तरोन्नति गरी एक सय शय्याको बनाउन दिइएको ६ महिने परीक्षण काल सकिएपश्चात नवीकरण गर्ने क्रममा तत्कालीन प्रदेश मन्त्री लक्ष्मणबहादुर पाण्डेसहित उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौलाले ३० लाख रुपैयाँ घुस मागेको अडियो भिडियो (श्रव्यदृश्य) सार्वजनिक भएको थियो। सो अडियो भिडियोमा मन्त्री क्वार्टरमै पैसाको बार्गेनिङ भएको देखिन्छ भने उक्त रकम लिन मन्त्रीका स्वकीय सचिव पौडेलले ताकेता गर्दै फोन सम्वाद गरेका थिए।
बार्गेनिङ गरेको अडियो भिडियोमा मन्त्री र स्वकीय सचिवले आर्थिक लेनदेनका लागि बार्गेनिङ गरे पनि रकम लिएको अस्वीकार गरेका छन्। उनीहरूले मन्त्रालयका सचिव बसौलाले रकम मागेकाले सोही अनुसार आफूहरूले आर्थिक लेनदेनको कुरा गरेको आरोप लगाएका छन्।
तर सचिव बसौलाले भने आफूले कसैसँग पनि आर्थिक लेनदेनको कुरा नगरेको भन्दै घुस बार्गेनिङको आरोप अस्वीकार गरेका छन्।
यसअघि, यही घुस काण्डबारे छानबिन गर्न नेकपा एमाले संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा एमालेले पनि छुट्टै समिति गठन गरिसकेको छ। सो समितिले छानबिन सुरु गरिसकेको बताएको छ।
प्रकाशित: ५ आश्विन २०८३ ११:०९ सोमबार





