विम्बल्डनमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल पुगेका बेलायती खेलाडी आर्थर फेरीको यूएस ओपन यात्रा भने पहिलो चरणमै समाप्त भएको छ।
२४ वर्षीय फेरीलाई इटालीका १३औँ वरीयताका लोरेन्जो मुसेट्टीले सोझो सेटमा पराजित गरे। मुसेट्टीले फेरीमाथि ६-३, ६-३, ७-५ को जित निकाल्दै दोस्रो चरणमा स्थान बनाए।
यसै वर्षको विम्बल्डनमा अप्रत्याशित रूपमा सेमिफाइनल पुगेपछि फेरी विश्व वरीयतामा ११४औँ स्थानबाट शीर्ष ४० भित्र उक्लिएका थिए। उनी यूएस ओपनमा ३३औँ वरीयतामा रहेका थिए।
न्युयोर्कमा पनि उनले राम्रो सुरुवात गरे पनि मुसेट्टीको उत्कृष्ट एकहाते ब्याकह्यान्ड र सटीक खेलका अगाडि टिक्न सकेनन्। तेस्रो सेटमा फेरीले २-० को अग्रता बनाउँदै पुनरागमनको संकेत दिए पनि मुसेट्टीले तत्कालै खेल आफ्नो पक्षमा फर्काए।
फेरीले ५-५ को अवस्थामा सर्भिस ब्रेक गर्दै खेल बराबरीमा ल्याए पनि त्यसलाई निरन्तरता दिन सकेनन्। मुसेट्टीले त्यसपछि लगातार दुई गेम जित्दै खेल आफ्नो पक्षमा पारे।
यूएस ओपनको पहिलो चरणबाट बाहिरिए पनि फेरीका लागि यो वर्ष उत्कृष्ट रहँदै आएको छ। विम्बल्डनमा २५ वर्षपछि पुरुषतर्फ वाइल्डकार्डमार्फत सेमिफाइनल पुग्ने पहिलो खेलाडी बनेका फेरीले यसअघि विन्स्टन-सेलम ओपनमा पनि पहिलो एटीपी फाइनल खेलेका थिए।
प्रकाशित: १७ भाद्र २०८३ ०७:४१ बुधबार





