२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

द हन्ड्रेड खेल्ने पहिलो पाकिस्तानी महिला खेलाडी बन्दै फातिमा सना

पाकिस्तानकी कप्तान फातिमा सना इंग्ल्यान्डको प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता द हन्ड्रेड खेल्ने पहिलो पाकिस्तानी महिला खेलाडी बन्ने भएकी छन्। २४ वर्षीया अलराउन्डर फातिमालाई बर्मिङ्घम फिनिक्सले ‘वाइल्डकार्ड’ खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो।

यससँगै फातिमाले पाकिस्तान महिला क्रिकेटका लागि नयाँ इतिहास रच्नेछिन्। यस वर्षको द हन्ड्रेड प्रतियोगिता जुलाई २१ देखि सुरु हुँदैछ।

यसअघि फेब्रुअरीमा बीबीसी स्पोर्टले इन्डियन प्रिमियर लिग (आईपीएल) सँग सम्बन्धित चार फ्रेन्चाइजले पाकिस्तानी खेलाडीलाई अनुबन्ध नगर्ने अपेक्षा गरिएको खबर सार्वजनिक गरेको थियो। लामो समयदेखि इन्डियन प्रिमियर लिगमा पाकिस्तानी खेलाडीमाथि अनौपचारिक प्रतिबन्धजस्तै स्थिति रहँदै आएको छ।

त्यसपछि इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले सबै आठ फ्रेन्चाइजलाई भेदभावविरोधी नीतिप्रति आफ्नो जिम्मेवारी सम्झाउँदै पत्राचार गरेको थियो। पछि ईसीबी र फ्रेन्चाइजहरूले संयुक्त वक्तव्य जारी गर्दै “खेलाडीलाई राष्ट्रियताका आधारमा बहिष्कार गर्न नहुने” स्पष्ट पारेका थिए।

मार्चमा भएको प्रारम्भिक अक्सनमा फातिमा सना र अर्की पाकिस्तानी स्पिनर सादिया इकबाल बिक्री हुन सकेका थिएनन्। तर पुरुषतर्फ पाकिस्तानका स्पिनर अबरार अहमदलाई सनराइजर्स लिड्सले अनुबन्ध गरेको थियो।

फातिमाको छनोटलाई पाकिस्तानी महिला क्रिकेटका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ, जसले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा पाकिस्तानी महिला खेलाडीको उपस्थितिलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ असार २०८३ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App