१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

दुई सिजन अपराजित कर्णाली च्याम्पियन

एभरेस्ट महिला भलिबल लिग

लगातार १२ खेलसम्म अपराजित रहँदै कणाली यशविसले फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा पनि उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा कर्णालीले शनिबार सम्पन्न फाइनलमा ललितपुर क्विन्समाथि ३–२ को सेटमा जित निकाल्दै दोस्रो संस्करणको पनि उपाधि उचाल्यो। कर्णालीले ट्रफीसँगै १० लाख र ललितपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो। यससँगै युवा खेलाडी सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णाली दुई संस्करणभर नै अपराजित रह्यो। कर्णालीले १२ मध्ये चार जित ललितपुर क्विन्समाथि नै प्राप्त गरेको हो। कर्णालीले ललितपुरलाई गत संस्करण र यसपल्ट समान दुई पल्ट हराउन सफल भयो। लिबेरो सलिना श्रेष्ठको कप्तानीमा रहेको ललितपुर क्विन्स लगातार दोस्रोपल्ट फाइनलमा पुगे पनि उपाधिविहीन बन्यो।

दुवै फाइनलका खेल उस्तै रहे। ललितपुरले कडा चुनौती दिए पनि कर्णालीले उपाधि जोगायो। गत संस्करणमा पनि ललितपुर ३–२ को खेलमा नै पराजित भएको हो। कर्णालीले पहिलो दुई सेट आफ्नो बनाउँदै सहज जित निकाल्ने संकेत गर्‍यो। कर्णालीले पहिलो सेट २६–२४ र २५–१७ ले आफ्नो बनायो तर तेस्रो सेटमा कर्णालीको डिफेन्स खराब रह्यो। ललितपुरले पनि यसको फाइदा लियो र पुनरागमन गर्ने माध्यम पायो। तेस्रो सेटमा कर्णालीले एकपछि अर्को गल्त गर्‍यो। एउटा खेलाडीले रिसिभ नगर्दा सम्पूर्ण नै दबाबमा देखिए। अन्तत् ललितपुरले २५–१३ ले सहजै तेस्रो सेट आफ्नो पक्षमा राख्यो।

थप दबाब महसुस गरेको कर्णालीले चौथो सेट पनि २५–१७ ले सहजै गुमायो। यससँगै यसपल्ट पनि फाइनलमा उस्तै प्रकृतिको प्रतिस्पर्धा दोहोरियो। गत संस्करण पनि कर्णालीले पहिलो दुई सेटमा अग्रता जोगाउन सकेको थिएन। अन्तत् पाँचौं सेटमा संघर्षपूर्ण जित निकाल्यो। यसपल्ट फाइनलमा पनि त्यस्तै खेल दोहोरियो।

पाँचौं तथा निर्णायक सेटमा कर्णालीकी कप्तान सुमित्रा चँम्किइन्। कर्णालीले १५–८ ले सहजै खेल आफ्नो बनाउँदै दोस्रो पल्ट उपाधि उचाल्यो। फेरि एकपल्ट फाइनलमा ललितपुर असफल भयो। लगातार १२औं खेलसम्म कर्णालीले अपराजित यात्रा कायमै राखेको छ।

कर्णालीको जितमा सेटर जसना महतो प्लेअर अफ दी म्याच भइन्। कर्णालीलाई दोस्रोपल्ट च्याम्पियन बनाएकी कप्तान सुमित्रा मस्ट भ्यालुएबल प्लेअर भइन्। उनले यसबापत ट्रफी र ५० हजार रुपैयाँ पाइन्। जितपछि कप्तान सुमित्राले तेस्रो सेटमा डिफेन्समा बिग्रेपछि दबाबका कारण लगातार दुई सेट गुमाउनु परेको बताइन्। यद्यपि, राम्रो टिम वर्कका कारण पाँचौं सेटमा सहजै जित प्राप्त हुँदा उपाधि जोगाएको उनले प्रतिक्रिया दिइन्। प्रशिक्षक कुमार राईले पनि तेस्रो सेटमा रिसिभ बिग्रदा दबाब भएको बताए।

कर्णालीकै सफिया पुनले बेस्ट सेटर पाइन्। काठमाडौं स्पाइकर्सकी उषा भण्डारीले बेस्ट स्पाइकर, लुम्बिनी लाभासकी कप्तान अरुणा शाहीले बेस्ट सेटर, ललितपुरकी कप्तान सलिनाले बेस्ट लिबेरा र ललितपुरकै संगम महतोले बेस्ट ब्लकरको पुरस्कार पाइन्।

विधागत उत्कृष्टले ट्रफीसँगै २५ हजार रुपैयाँ पाए। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले विजेता कर्णालीलाई उपाधि प्रदान गरेका थिए। इनफिनिटी ड्रिम्स प्रालीको आयोजनामा फ्रेन्चाइज महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा सुरु भएको थियो तर गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण प्रभावित हुन पुग्यो। फ्रेन्चाइज टोलीका विदेशी खेलाडी नै बसेको होटलमा आगलागी भएको थियो। ६४ दिनपछि काठमाडौंमा सुचारु भएको लिग विदेशी खेलाडीबिना नै खेलाइयो। विदेशी खेलाडीबिना पनि कर्णालीले अपराजित यात्रा कायम राख्दै च्याम्पियन भयो।

ललितपुरले भने विदेशी खेलाडीबिना खेलिएको लिगका दुई र फाइनलको एक गरी तीनै खेल गुमाउन पुग्यो। कुल ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। काठमाडौं तेस्रो, लुम्बिनी चौथो, पोखरा निन्जास पाँचौं र मधेश युनाइटेड पुछारमा रहेर लिगको यात्रा टुङ्गाए।

कर्णाली यशविस शनिबार फाइनलमा ललितपुर क्विन्समाथि ३–२ को सेटमा जित निकाल्दै दोस्रो संस्करणमा पनि च्याम्पियन भयो। कर्णालीले ट्रफीसँगै १० लाख र ललितपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो। युवा खेलाडी सुमित्रा रेग्मीको कप्तानीमा कर्णाली दुई संस्करणभर नै अपराजित रह्यो। दुई संस्करणमा गरेर कर्णालीले कुल १२ जित निकाल्यो र त्यसमध्ये चार जित ललितपुरमाथि नै प्राप्त गर्‍यो।  

प्रकाशित: ३० कार्तिक २०८२ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App