अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फुटबलको आनन्द र पीडा दुवै अनुभव गरे, किनकि फिफा क्लब विश्वकपको फाइनलमा दर्शकले उनलाई गिज्याएका थिए ।
तर पनि च्याम्पियन चेल्सीसँग उनी उत्साहित भएर उत्सवमा सामेल भए । पुरस्कार वितरण गर्ने मञ्चमा अमेरिकी राष्ट्रपति ट्रम्प अग्रभाग र बीचमा थिए, जहाँ विजेता खेलाडीहरूले उनीबाट पुरस्कार ग्रहण गरे । जब चेल्सीले ट्रफी उचाल्दा रातो टाई लगाएका ट्रम्पले पनि मुस्कानसहित चेल्सीका खेलाडीहरूसँगै ताली बजाएर उफ्रिएर साथ दिए ।
ट्रम्पले चेल्सीका कप्तान रिसे जेम्सलाई ट्रफी हस्तान्तरण गरेका थिए । तर, यसभन्दा केही समयअगाडि ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मैदानमा प्रवेश गर्दा स्टेडियममा अमेरिकी राष्ट्रपतिलाई अपमान गरिएको आवाज सुनिएको थियो । यद्यपि त्यहाँ बजेको संगीतले त्यो आवाज लुकाइदियो । रिपब्लिकन अरबपति ट्रम्प न्युयोर्क सहरनजिकै न्यु जर्सीको मेटलाइफ स्टेडियममा खेल हेर्न आउँदा प्रथम महिला मेलानिया ट्रम्पसँग ताली बजाइएको थियो ।
ठूलो स्क्रिनमा ट्रम्पले अमेरिकी राष्ट्रिय गानमा सल्युट गरिरहेको समयमा फेरि उनलाई गिज्याइरहेको सुनिन्थ्यो । त्यसपछि क्यामरा छिटो उनबाट सारिएको थियो । तर पनि अमेरिकी राष्ट्रपति रिसाएको देखिएन । ट्रम्पले क्लब विश्वकपका उत्कृष्ट खेलाडी घोषित कोल पाल्मरलाई गोल्डेन बल प्रदान गरे । त्यसपछि उनले पराजित पेरिस सेन्ट जर्मेनका खेलाडीहरूसँग पनि हात मिलाए र पदक दिए ।
उनले पछि दर्शकहरूलाई सम्बोधन गर्दै ‘अद्भुत’ भने । ‘हामीले रमाइलो गर्यौं,’ ट्रम्पले खेल सकिएपछि वासिङ्टन डिसीनजिकै जोइन्ट बेस एन्ड्य्रुजमा पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए । निर्वाचनका लागि प्रचारप्रसारको क्रममा पेन्सिल्भेनियामा ट्रम्पको हत्या प्रयास भएको एक वर्षपछि नै उनी खेलमा उपस्थिति रहे ।
ह्वाइट हाउसमा दोस्रो कार्यकाल बिताउँदा अमेरिकामा क्लब विश्वकप र अर्को वर्ष विश्वकप २०२६ को आयोजना हुनुलाई उनले ‘अमेरिकाको स्वर्ण युग’ को रूपमा चर्चा गर्दै आएका छन् । अर्को वर्षको विश्वकप फाइनल पनि यही स्टेडियममा हुनेछ र संयोग नै मान्नुपर्छ त्यति बेला अमेरिकाको स्वतन्त्र भएको २५०औं वार्षिकोत्सव पनि हुनेछ ।
ट्रम्पले अर्को वर्ष हुने विश्वकपका लागि वासिङ्टनमा टास्क फोर्स पनि गठन गरेका छन् । जुन विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन् । ट्रम्पले विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष इन्फान्टिनोसँग नजिकको सम्बन्ध कायम गरेका छन् । इन्फान्टिनो पनि सहज रूपमा ह्वाइट हाउस आउने जाने गर्छन् ।
मार्चमा इन्फान्टिनो ओभल अफिसमा आउँदा ट्रम्पले क्लब विश्वकप ट्रफी पनि आफ्नो टेबलनजिकै राखेका थिए । इन्फान्टिनोले सन् २०१८ को विश्वकपअगाडि नै रूसका भ्लादिमिर पुटिन जस्ता विश्वस्तरीय नेतासँग राम्रो सम्बन्ध बनाउने अनुभव पनि बटुलिसकेका छन् । उनै इन्फान्टिनोले शनिबार ट्रम्पलाई क्लब विश्वकप आयोजनाका लागि समर्थन र साथ दिएकाले धन्यवाद पनि दिए । ‘ट्रम्पले क्लब विश्वकप र अर्को वर्ष हुने विश्वकपको ट्रफीको महत्व बुझे,’ इन्फान्टिनोले भने । उनले ट्रम्पलाई ट्रफी मन पर्ने भन्दै मजाक पनि गरे । जुन सुनले पोतिएको आगामी वर्षको विश्वकप २०२६ को ट्रफी ट्रम्पको कार्यालयमा छ ।
इन्फान्टिनोले ट्रम्पको फुटबलप्रतिको रुचि व्यक्तिगत रहेको पनि उल्लेख गरेका छन् । ‘उनका १९ वर्षीया छोरा ब्यारन फुटबल समर्थक हुन्,’ इन्फान्टिनोले शनिबार न्युयोर्कको ट्रम्प टावरमा भएको पत्रकार सम्मेलनमा उल्लेख गरे । ट्रम्पलाई फुटबल मन पर्छ भन्ने पत्रकारले इन्फान्टिनोलाई प्रश्न पनि गरे । ‘मलाई लाग्छ पर्छ नै । अमेरिकाको राष्ट्रपतिका रूपमा उनको पहिलो कार्यकालमा ह्वाइट हाउसको बगैंचामा फुटबल पोस्ट राखिएको थियो,’ इन्फान्टिनोले जबाफ दिए । साथै उनले यसबारे थप प्रस्ट पारे, ‘उनका छोरालाई फुटबल मन पर्छ र उनलाई पनि यो खेल मन पर्छ । जब तपाईं आमा–बाबा हुनुहुन्छ, तपाईंले आफ्ना सन्तानले मन पराउने कुरालाई नै मन पराउनुहुन्छ । त्यसैले मलाई लाग्छ, उनलाई यो खेल मन पर्छ ।’
न्युयोर्क आर्मी एकेडेमीको बोर्डिङ स्कुलका विद्यार्थी रहँदा ट्रम्प आपैंmले पनि एक सिजनसम्म फुटबल खेलेको चर्चा हुने गरेको छ । तर ट्रम्पले आफ्नो फुटबल प्रेमलाई राजनीतिक विवादसँग मिसाउँछन् । जुनमा उनले इटालियन क्लब युभेन्ट्सलाई ओभल अफिसमा आमन्त्रित गरेर ट्रान्सजेन्डर खेलाडीहरूको विषयमा विवादास्पद टिप्पणी गरेका थिए । धेरै खेलाडीहरू त्यो सुनेर अचम्मित पनि भए । तर, युभेन्ट्सका जनरल म्यानेजरले आफ्नो महिला टोली धेरै बलियो र राम्रो रहेको भन्दै ट्रम्पलाई जबाफ फर्काएका थिए । त्यसप्रति ट्रम्पले ‘उनी धेरै कूटनीतिक छन्’ भन्ने प्रतिक्रिया पनि दिएका थिए ।
उनको ‘अमेरिका फस्र्ट’ नीतिले २०२६ विश्वकपमा प्रशंसकहरू अमेरिका आउन डराउने आशंका बढाएको छ । तर, मेमा उपराष्ट्रपति जेडी भान्सले भनेका थिए, ‘प्रशंसकहरू आउन सक्छन् । तर विश्वकप सकिएपछि उनीहरूले घर फर्किनुपर्छ ।’ एएफपी
प्रकाशित: ३१ असार २०८२ ०७:४४ मंगलबार





