५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
खेल

इङ्लिस प्रिमियर लिग आजबाट, पहिलो खेलमा साविक विजेता आर्सनल र कोभेन्ट्री भिड्दै

इङ्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु हुँदैछ। साविक विजेता आर्सनलले पहिलो खेलमा नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्दै उपाधि रक्षा अभियान सुरु गर्दैछ। खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ।

गत सिजन प्रिमियर लिगको उपाधि जितेको आर्सनल लगातार दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ। प्रशिक्षक मिकेल आर्टेटाले टोलीलाई उपाधि रक्षा गर्न सुरुआतदेखि नै उच्च स्तरको प्रदर्शन आवश्यक रहेको बताएका छन्। आर्सनलले यसअघि म्यानचेस्टर सिटीलाई ३-० ले हराउँदै कम्युनिटी सिल्ड जितेर नयाँ सिजनको राम्रो सुरुआत गरिसकेको छ।

आर्सनलका लागि नयाँ सिजनमा ब्रुनो गिमारेस महत्वपूर्ण खेलाडीका रूपमा रहनेछन्। न्युक्यासल युनाइटेडबाट करिब ७ करोड ५० लाख पाउन्डमा अनुबन्ध भएका गिमारेस भने खुट्टाको समस्याका कारण आजको खेलमा खेल्ने विषयमा शंका रहेको छ।

यता कोभेन्ट्री सिटी २५ वर्षपछि पहिलोपटक इङ्लिस फुटबलको शीर्ष श्रेणीमा फर्किएको हो। प्रशिक्षक फ्राङ्क लाम्पार्डको नेतृत्वमा रहेको कोभेन्ट्रीले नयाँ सिजनमा टिकिरहने लक्ष्य राखेको छ। लाम्पार्डले आफ्ना खेलाडीलाई आर्सनलविरुद्ध डररहित भएर खेल्न आग्रह गरेका छन्।

कोभेन्ट्रीले शीर्ष श्रेणीमा फर्किएपछि टोलीलाई बलियो बनाउन खेलाडी अनुबन्धमा ठूलो लगानी गरेको छ। त्यसैले घरेलु मैदानमा आर्सनल स्पष्ट रूपमा बलियो देखिए पनि नवप्रवेशी टोलीले उद्घाटन खेलमै अप्रत्याशित नतिजा निकाल्ने प्रयास गर्नेछ।

आजको खेल आर्सनलका लागि उपाधि रक्षा अभियानको सुरुआत मात्र नभई नयाँ सिजनमा टोलीको तयारी र क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर पनि हुनेछ। कोभेन्ट्रीका लागि भने २५ वर्षपछि प्रिमियर लिगामा फर्किएको पहिलो खेल नै साविक विजेताविरुद्ध भएकाले यो खेल विशेष बन्नेछ। खेल नेपाली समय अनुसार राति १२ः४५ मा हुनेछ।

प्रकाशित: ५ भाद्र २०८३ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App