अमेरिकामा जन्मिएका रोनान बेन्जामिन सुलिभानको दुई उत्कृष्ट गोल प्रेरणामा बंगलादेशले माल्दिभ्समा भएको साफ यु–२० च्याम्पियनसिपमा सहज जित निकालेको छ।
आफ्नो डेब्युमै सुलिभानले सानदार प्रदर्शन गरेपछि बंगलादेशले समूह ‘बी’ को उद्घाटन खेलमा मंगलबार मालेमा पाकिस्तानमाथि २–० को जित निकालेको हो। मालेस्थित नेसनल फुटबल स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। यद्यपि, पहिलो हाफमा बंगलादेशले धेरैपल्ट अवसर सिर्जना गरे पनि गोल निस्किएन। दोस्रो हाफको सुरुमा नै बंगलादेश गोल गरेको हो।
बंगलादेशले ५४औं मिनेटमा अग्रता लिन सफल भयो। करिब २५ यार्ड टाढाबाट गरेको रोनानको फ्रिकिक प्रहार आकर्षक गोलमा परिणत भएको हो। उनको सशक्त प्रहारले पाकिस्तानका गोलकिपर कासिफ स्तब्ध बने। नाजमुल हुडा फैसलले उक्त सेट पिस अवसर सिर्जना गरेका थिए।
पाकिस्तानका कप्तान अली जफरले नजमुललाई लडाएपछि बंगलादेशले फ्रिकिक पाएको हो । त्यसअघि ५२औं मिनेटमा पनि मुरसेद अली गोलनजिक पुगेका थिए तर सफलता पाउन भने सकेन। ६७औं मिनेटमा रोनानले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। शेख संग्रामले बायाँ विंगबाट दिएको सटीक क्रसमा बक्सभित्र अनमार्क रोनानले हेडमार्फत सहजै गोल गरे।
रोनान र उनका जुम्ल्याहा भाइ डेक्लान थिओडोर सुलिभान प्रतियोगिताअघि पहिलोपटक बंगलादेश टोलीमा समावेश भएका थिए। त्यसमध्ये रोनानले पहिलो खेलमा अवसर पाए तर डिक्लेनले पाकिस्तानविरुद्धको खेल्न अवसर पाएनन्। डेब्युमै रोनानले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई जित दिलाए।
यस जितसँगै बंगलादेश समूह ‘बी’ मा बलियो अवस्थामा पुगेको छ र सेमिफाइनल प्रवेशको सम्भावना बढाएको छ। अब बंगलादेशले शनिबार समूहचरणको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सोमबार सम्पन्न खेलमा समूह ‘ए’ अन्तर्गत नेपालले भुटानलाई २–१ ले हराउँदा श्रीलंकाले आयोजक माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान छ। तीन टोली रहेको समूहमा जितसँगै डिफेन्डिङ च्याम्पियन बंगलादेशले आत्मविश्वासी प्रदर्शनसहित महत्त्वपूर्ण सुरुआत गरेको छ। यस च्याम्पियनसिपमा बंगलादेश र भारतलाई दाबेदारका रूपमा हेरिएको छ।
यस उमेरसमूहमा यो तेस्रो संस्करणको च्याम्पियनसिप हो। यसअघि सन् २०२२ मा भएको फाइनलमा भारतले बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो। पछिल्लो संस्करण (सन् २०२४) मा नेपाल फाइनलमा पुगेको थियो। तर, घरेलु मैदानमा भएको त्यो फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो। लिगमा बंगलादेशलाई २–१ ले हराएको नेपाल उपाधि भिडन्तमा असफल भएको हो तर यसपल्ट नेपाली टोली उपाधि जित्ने लक्ष्यमा छ। नेपालको समूह ‘ए’ मा भुटान, श्रीलंका र माल्दिभ्स छन्। नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ। पहिलो खेलमा दुई गोलले पछि परेको स्थितिमा श्रीलंकाले घरेलु टोलीविरुद्ध पुनरागमन जित निकालेको हो।
प्रकाशित: ११ चैत्र २०८२ ०७:०० बुधबार





