केन्याका खेलाडीहरू विश्व एथलेटिक्स च्याम्पियनसिपमा सात स्वर्ण पदक जित्दै चम्किए पनि डोपिङको आरोपका कारण उनीहरूमाथि दाग लाग्न सक्ने देखिएको छ ।
टोकियोमा भएको च्याम्पियनसिपमा केन्याली खेलाहरू चम्किए पनि विश्व एन्टी डोपिङ एजेन्सी वाडाले पूर्वी अफ्रिकी देशलाई चेतावनी दिएको हो । त्यो भएमा केन्याको एथलेटिक्समाथि ठूलो दागसमेत लाग्न सक्छ । गरिबीको रेखामुनि रहेको देशमा एथलेटिक्सका खेलाडीको सफलताले आशाका किरणहरू फैलाइरहेको छ । तर, वाडाका चेतावनीपछि फेरि समर्थकहरूमा निराशा छाएको छ । डोपिङ रोक्नका लागि केन्याले लाखौं रकम खर्च गरिरहेको चर्चा हुन्थ्यो । यद्यपि, विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को उच्च निगरानी भएपछि ती चर्चामा शंका उत्पन्न भएको छ । केन्याका धावक इब्राहिम हुसेन किपकेम्टबोईले गरिबी हटाउन दौडिएका धावकको नतिजाको पछाडि डोपिङ हो भने त्यो केन्याका लागि ठूलो क्षति हुन सक्ने औंल्याएका छन् ।
‘हाम्रा धेरै खेलाडीहरू गरिबीबाट निस्कन र आफ्ना परिवारलाई सहयोग गर्न दौडिएका छन् । तर, डोपिङले त्यो नतिजा आएको हो भने केन्याका लागि खराब हुनेछ,’ बोस्टन म्याराथनका तीनपल्टको विजेता इब्राहिम हुसेन किपकेम्टबोईले भने । उनले जित खेलाडीहरूका लागि जीवनभरका लागि अवसर हुने पनि उल्लेख गरेका छन् । सन् २०१७ देखि करिब एक सय ४० जना केन्याका एथलेटिक्स खेलाडी एथलेटिक्स इन्टिग्रिटी युनिट (एआईयु) को प्रतिबन्धमा परेका छन् । जुन कुनै पनि देशको भन्दा बढी हो । तीमध्ये धेरै जसो म्याराथन धावक नै छन् । सन् २०१६ को ओलम्पिक च्याम्पियन म्याराथन धाविका जेमिमा सुमगोङ र म्याराथनको विश्व कीर्तिमानी रुथ चेपनगेटिच गत जुलाईमा प्रतिबन्धमा परेका थिए ।
डोपिङ परीक्षण असफल भएपछि उनीहरू प्रतिबन्धमा परेका हुन् । पेरिस ओलम्पिकमा १० हजार मिटर दौडमा पाँचौं स्थानमा आएका बेनार्ड किबेट कोइच पनि गत जुनमा नै एआईयुको निलम्बनमा परेका थिए । ‘यो अवस्था आउनुको पछाडि हामीले आवश्यक मात्रामा काम गर्न नसक्नु हो,’ केन्याका खेलकुद पत्रकार पिटर एनजेन्गाले भने,‘यसलाई धेरै चिन्तित विषयका रूपमा लिएको छु । केन्यामा एचआइभीविरुद्ध जसरी काम गरिएको थियो, सोही तरिकाले डोपिङमा पनि काम गर्न आवश्यक छ ।’ यो विश्व च्याम्पियनसिप सुरु हुनुअघि मात्रा वाडाले केन्याको राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (एडिएके) लाई खेलाडीहरूलाई क्याम्प गराउन भनेको थियो । तर, त्यसमा काम गरिएको देखिएन ।
वाडाले चेतावनी पनि दिँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नै केन्यालाई प्रतिबन्ध लगाउने उल्लेख गरेको छ । ‘अब हामीमाथि ठूलो चुनौती थपिएको छ । जबसम्म हामीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्दैनौं भने यही अवस्थामा रहन्छ,’ केन्याको एथलेटिक्स कमिटीका सदस्य बार्नबा कोरिरले भने,‘यो समाचार हाम्रा लागि दुखद पक्ष हो ।’ केन्याले सन् २०२९ र २०३१ को विश्व च्याम्पियनसिप आयोजनाका लागि दाबेदारी दिँदै छ । तर, डोपिङ परीक्षणमा असफल भयो भने केन्या आयोजनाको दाबीबाट पछि हट्नुपर्ने अवस्था आउनेछ ।
केन्याको सरकारले पनि यो खेलका लागि ठूलो रकम लगानी गर्ने बताएको थियो । तर, वाडाको चेतावनीपछि ठूलो झड्का लागेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को दबाबपछि केन्याको राष्ट्रिय एन्टी डोपिनङ एजेन्सी स्थापना भएको हो । यद्यपि, सन् २०१६ मा स्थापना भएको एजेन्सीले राम्रोसँग काम गर्न सकिरहेको छैन । वार्षिक रूपमा चार हजार परीक्षण हुँदा चार सय खेलाडी असफल भएको तथ्यांक देखिन्छ ।
प्रकाशित: ७ आश्विन २०८२ ०८:४१ मंगलबार





