नेपालकी देवकी खड्काले श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा विश्व कीर्तिमानीसहित स्वर्ण जितेकी छन् ।
श्रीलंकाको राजधानीमा कोलम्बोमा भएको च्याम्पियनसिपमा देवकीले स्क्वाट लिफ्टिङमा कीर्तिमानी भार वहन गरेकी हुन् । उक्त च्याम्पियनसिपमा नेपाली लिफ्टरहरूले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै धेरै संख्यामा स्वर्ण, रजत र कांस्य पदक जिते । देविकाले पनि दुई विधामा स्वर्ण जितिन् ।
उनले स्क्वाटमा एक सय ८० केजी भार उठाउँदै स्वर्ण प्राप्त गरिन् । यस विधामा उनले कीर्तिमानी भार उठाइन् । अर्को स्वर्ण उनले मास्टर्स ४०–४४ केजी तौलसमूहमा एक सय केजी भार उठाउँदै प्राप्त गरेकी हुन् । पहिलो दिनदेखि नै नेपाली पावरलिफ्टरले च्याम्पियनसिपमा प्रभाव जमाएका थिए । नेपालले समग्रमा २६ स्वर्ण, १० रजत र पाँच कांस्य गरी कुल ४१ पदक प्राप्त गरेको थियो ।
नेपाल पावर लिफ्टिङ संघ र नेपाली युथ फिटनेस एन्ड क्यालिसथेनिक्स (एनवाइसी नेपाल) ले पहलमा नेपाली खेलाडीले विश्व च्याम्पियनसिमा प्रतिस्पर्धा गरेका हुन् । यस च्याम्पियनसिपमा कुल १२ देशका दुई सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा पुरुषतर्फ बेस्ट लिफ्टरको उपाधि नेपालकै शुकदेव कार्कीले पाए । उनले २४० केजी स्क्वाट, १३८ केजी बेन्च प्रेस र २६४ केजी डेडलिफ्ट गरी कुल ६ सय ४२ केजीको लिफ्ट प्रदर्शन गरेका थिए । महिलामा शर्मिला शाहले बेस्ट लिफ्टरको उपाधि जितिन् ।
प्रकाशित: १८ मंसिर २०८२ २०:०९ बिहीबार





