१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब, सिरहा ताप्लेजुङ गोल्डकपको चौथो संस्करणमा फाइनलमा पुगेको छ।

फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सहलेसले भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

विजयी टोलीका लागि मध्याह्नपछि पहिलो गोल निस्कुमार श्रेष्ठले गरेका थिए भने निर्णायक दोस्रो गोल फागुराम थारूले गरे। मध्याह्नअघि भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।

जर्जियन फुटबल क्लबले विपक्षी टोलीविरुद्ध गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। अन्ततः सहलेस युवा क्लबले २–० को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

टिमका लागि दोस्रो गोल गरेका फागुराम थारू मंगलबारको खेलमा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ७ हजार रुपैयाँ बराबरको अलैंची पुरस्कार प्राप्त गरे।

सहलेस ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको विजेता तथा दोस्रो संस्करणको उपविजेता हो। अब फाइनलमा सहलेसले बुधबार झापा–११ र पाँचथरको पि|म्ड स्पोर्टिङ क्लबबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले बजाज कम्पनीको एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुने खेलाडीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

बुधबार दोस्रो सेमिफाइनल खेलपछि बिहीबार एक दिन विश्राम गराइनेछ। प्रतियोगिताको फाइनल खेल भदौ १९ गते शुक्रबार हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।

प्रकाशित: १६ भाद्र २०८३ १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App