सुमित वर्मा र विपिन खत्रीको उत्कृष्ट प्रदर्शनको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित दर्ता गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्यो।
यो हारसँगै जनकपुर बोल्ट्सले जारी प्रतियोगितामा लगातार तेस्रो हार व्यहोर्दै ‘हारको ह्याट्रिक’ गरेको छ। यसअघि जनकपुर काठमाडौं र विराटनगरसँग पराजित भएको थियो।
पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रनमा समेटियो।
जनकपुरको सुरुवात निकै खराब रह्यो। टोलीले पावरप्लेमा ३७ रन जोड्दा ५ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। ओपनर आसिफ शेख (०), शुभ कंसाकार (४), जान निकोल लोफ्टी–इटन (२) र कप्तान अनिल शाह (१) सस्तैमा पेभेलियन फर्किए। माज सदाकतले २० रन बनाए।
जनकपुरलाई सस्तैमा समेट्न पोखराका विपिन खत्रीले घातक बलिङ गरे। उनले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए। त्यस्तै, ब्याटिङमा अर्धशतक बनाएका सुमित वर्माले बलिङतर्फ पनि ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।
सातौँ नम्बरमा ब्याटिङ गर्न आएका वेन पार्नेलले ३८ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त भएन। सञ्जय कृष्णमूर्तिले २५ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
पोखराको सुरुवात राम्रो भए पनि मध्यक्रममा नाटकीय पतन भएको थियो। ६१ रनमा पहिलो विकेट गुमाएको पोखराले थप ३ रन जोड्दा ४ विकेट गुमायो।
ओपनर दिनेश खरेलले ३८ र एडम रोसिङ्टनले २४ रन बनाए। तर, कप्तान कुशल भुर्तेल (०) र जेम्स निसम (१) चल्न सकेनन्।
त्यसपछि सुमित वर्मा र तृत राज दासले इनिङ्स सम्हाले। सुमितले २९ बलमा २ चौका र ४ छक्कासहित अविजित ५० रन बनाए। तृत राज दासले २९ रनको योगदान दिए।
जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए पनि ब्याटरहरू चल्न नसक्दा टोली पराजित भयो।
यो जितसँगै पोखरा एभेन्जर्सले ३ खेलमा २ अंक जोडेको छ। उता बलियो मानिएको जनकपुर बोल्ट्स भने सुरुवाती तीनवटै खेल हार्दै अंक तालिकाको पुछारतिर धकेलिएको छ।
प्रकाशित: ११ मंसिर २०८२ १९:१८ बिहीबार





