घरेलु भूमिमा जारी फिफा विश्वकप २०२६ मा अमेरिकाले दक्षिण अमेरिकी राष्ट्र पाराग्वेमाथि जित निकाल्दाका नायक हुन्, फोलारिन बालोगुन। एङ्गलवुडस्थित लस एन्जलस स्टेडियममा अमेरिका बलियो मानिएको पाराग्वेमाथि पूर्ण हाबी भएपछि सबैभन्दा बढी चर्चा भएका खेलाडी हुन् बालोगुन। समूह ‘डी’ को उक्त प्रतिस्पर्धाको नतिजा अमेरिकाको पक्षमा ४–१ ले रह्यो। उद्घाटन खेलमा दुई गोल गर्दै अमेरिकालाई सानदार सुरुआत दिलाएका बालोगुन अहिले टोलीका प्रमुख आशा बनेका छन्। तर उनको कथा फुटबलमा सीमित छैन। उनको जीवनकथा अहिले अमेरिकामा चर्किरहेको नागरिकता र आप्रवासनसम्बन्धी बहससँग पनि गाँसिएको छ।
विडम्बना के छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको जन्मसिद्ध नागरिकतासम्बन्धी कडा नीति लाग् भएको भए बालोगुन आज अमेरिकी नागरिक नै बन्न नसक्ने थिए। २४ वर्षे बालोगुन नाइजेरियाली अभिभावकका सन्तान हुन्।
सन् २००१ मा लन्डनबाट उनको परिवार न्युयोर्क घुम्न गएको थियो। फर्किने बेला उनकी आमा गर्भवती रहेको थाहा पाएपछि एयरलाइन्सले उडान अनुमति दिएन। त्यही गर्भका सन्तान हुन्, फोलारिन। सन् २००१ को जुलाई ३ मा बालोगुनको जन्म न्युयोर्कको ब्रुकलिनमा नै भयो। अमेरिकी संविधानको १४औं संशोधनअनुसार अमेरिकामा जन्मिएका बालबालिकाले स्वतः नागरिकता पाउने व्यवस्था छ।
यही कानुनी व्यवस्थाका कारण बालोगुन अमेरिकी नागरिक बने। तर ट्रम्प प्रशासनले अवैध रूपमा बसोबास गर्ने वा अस्थायी भिसामा रहेका अभिभावकका सन्तानलाई नागरिकता नदिने कार्यकारी आदेश अघि सारेको छ। यस विषयमा अमेरिकी सर्वोच्च अदालतले छिट्टै फैसला सुनाउने अपेक्षा गरिएको छ। राजनीतिक बहस एकातिर छ तर मैदानमा भने बालोगुन अमेरिकाका लागि अमूल्य खेलाडी साबित भइरहेका छन्। पाराग्वेविरुद्धको खेलपछि अमेरिकी कप्तान तथा एसी मिलानका मिडफिल्डर क्रिस्टियन पुलिसिकले उनलाई टोलीको ठुलो सम्पत्ति भनेका थिए। ‘हामी उनीजस्तो खेलाडी पाउँदा भाग्यमानी छौं। उनी गोल गर्न निकै आक्रामक छन्,’ पुलिसिकले भने।
अमेरिकी अन्तर्राष्ट्रिय पूर्वखेलाडी केनी कुपर बालोगुनले अमेरिकालाई इतिहास रच्ने अवसर दिलाउन सक्ने बताउँछन्। ‘उनी उच्च स्तरमा आफूलाई प्रमाणित गरिसकेका गोलकर्ता हुन्। विश्वकपमा पनि उनले आफ्नो क्षमता देखाएका छन्,’ कुपरले भनेका छन्।
आर्सनलको एकेडेमीबाट हुर्किएका बालोगुनले इङ्ल्यान्ड वा नाइजेरियामध्ये कुनै पनि देशबाट खेल्न सक्थे। उनले इङ्ल्यान्डको उमेरसमूह टोलीबाट पनि खेलेका थिए। तर सन् २०२३ मा अमेरिकी फुटबल संघको प्रयासपछि उनले अमेरिकाको प्रतिनिधित्व गर्ने निर्णय गरे। त्यति बेला फ्रान्सेली क्लब रिम्समा लोनमा रहँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसपछि उनी ३५ मिलियन पाउन्डमा मोनाको पुगे।
अमेरिकाले उनलाई टोलीमा ल्याउन विशेष भेटघाट, खेल टिकट र विभिन्न कार्यक्रममार्फत आकर्षित गरेको थियो। आफ्नो निर्णयप्रति समर्थकहरूको मायाले ठुलो भूमिका खेलेको बालोगुनले बताएका छन्। ‘समर्थकहरूले सधैं साथ दिए। म सही निर्णय गरेको प्रमाणित गर्न चाहन्छु,’ उनले भने।
बालोगुन अमेरिकाले लामो समयदेखि खोजिरहेको विश्वस्तरीय गोलकर्ता रहेको फुटबल विश्लेषकहरू बताउँछन्। फ्रान्सको शीर्ष लिगमा नियमित खेलिरहेका उनी अहिले विश्वकप गोल्डेन बुटको प्रारम्भिक दाबेदारसमेत बनेका छन्। यद्यपि विश्वकप ३९ दिन चल्ने भएकाले उनको दाबेदारीबारे यसै भन्न सकिँदैन।
अमेरिकामा जन्मसिद्ध नागरिकताको विषय राजनीतिक रूपमा विभाजित बहस बनेको छ। यद्यपि अधिकांश अमेरिकी नागरिक जन्मेका सबै शिशुलाई स्वतः नागरिकता दिनुपर्ने पक्षमा छन्। बालोगुनको कथा एक फुटबलरको सफलतामा मात्र सीमित छैन। यो आप्रवासन, नागरिकता र आधुनिक अमेरिकी पहिचानसँग जोडिएको कथा पनि हो। अहिले उनी अमेरिकी समर्थकका लागि नयाँ नायक बनेका छन्। जो घरेलु भूमिमा जारी विश्वकपमा देशको सपना बोकेर अघि बढिरहेका छन्।
प्रकाशित: ६ असार २०८३ १०:२३ शनिबार





