चेकिया र दक्षिण अफ्रिका दुवै उत्तरी अमेरिकामा विश्वकपको यात्रा जोगाउने कि अन्त्य हुने भन्ने निर्णायक मोडमा आइपुगेका छन्।
बिहीबार एटलान्टा स्टेडियममा हुने समूह ‘ए’ को खेलमा अफ्रिकी टोली र युरोपको चेकियाबिच प्रतिस्पर्धा हुँदै छ। जुन दुवैका लागि गर या मरको अवस्था रहनेछ। दुवै टोलीले पहिलो खेलमा हार बेहोरिसकेका छन्। त्यसैले बिहीबार दुवैसँग तीन अंक जोड्नुको विकल्प हुने छैन। यो अस्तित्वको लडाइँमा नै सीमित हुन पनि सक्नेछ। दोस्रो खेलमा पनि पराजित टोलीको नकआउट चरण पुग्ने सपना लगभग समाप्त हुन सक्छ। यही कारण यो खेल समूहचरणकै सबैभन्दा दबाबपूर्ण भिडन्तमध्ये एक बन्नेछ। पहिलो खेलमा चेकिया एसियाली राष्ट्र दक्षिण कोरियासँग पराजित भएको हो। कोरियाविरुद्ध अग्रता लिए पनि चेकियाले २–१ ले नतिजा गुमाउन पुग्यो। लडिस्लाभ क्रेइचीले सुरुआती गोल जोगाउन नसक्दा यस विश्वकपमा संकटमा देखिएको छ।
ह्वाङ इन बोम र ओह ह्योन ग्युको गोलले कोरियालाई जित दिलाएको हो। यो हारपछि चेकियामाथि दबाब छ। चेकिया दक्षिण अफ्रिकासँग पनि पराजित भए र अर्को खेलमा मेक्सिकोले दक्षिण कोरियासँग हार टारेमा युरोपेली राष्ट्रको विश्वकप यात्रा समूहचरणमै समाप्त हुनेछ। पहिलो खेलभन्दा दक्षिण अफ्रिकाविरुद्ध फरक हुने चेकियाका स्ट्राइकर टोमास चोरी बताउँछन्। ‘कोरियासँग भन्दा पूर्ण फरक र सुधारिएको खेल प्रस्तुत गर्नेछौं। दोस्रो खेलमा धेरै बल पोसेसन राख्दै आत्मबल बलियो बनाउनेछौं,’ टोमासले भने, ‘यसले नै हामीलाई राम्रो स्थितिमा लानेछ। अभ्यासमा राम्रो गरेका छौं र त्यसलाई खेलमा बदल्न आवश्यक छ।’ चेकियाले पहिलो खेलमा बल नियन्त्रणमा राख्न सकेन। कोरियाले खेलको गति नियन्त्रण गर्दा चेकियाले सात प्रहार मात्र गर्न सक्यो।
चेकियाको अपेक्षित गोल पनि ०.८३ मा सीमित रह्यो। यद्यपि, प्रदर्शन अपेक्षाकृत कमजोर देखियो। एक तथ्यांक विश्लेषणले चेकियालाई अन्तिम ३२ मा पुग्ने ५१.७ प्रतिशत सम्भावना दिएको छ। यसले टोलीको गुणस्तर र पुनरागमन क्षमताप्रति अझै विश्वास रहेको संकेत गर्छ। चेकियाको इतिहास हेर्दा विश्वकपमा लगातार पहिलो दुई खेल गुमाएको छ। त्यो १९५४ र १९७० मा दुई पटक चेकियाले सामना गरेको छ। उनीहरू त्यो खराब इतिहास दोहोरिन नदिने प्रयासमा हुनेछन्। क्रेइची फेरि गोल गर्न सफल भए उनी विश्वकपका लगातार दुई खेलमा गोल गर्ने चेक खेलाडीहरूको सूचीमा पर्नेछन्। दक्षिण अफ्रिकाको अवस्था झन् जटिल छ। अफ्रिकी राष्ट्र सहआयोजक मेक्सिकोसँग २–० ले पराजित मात्र भएन दुई महत्त्वपूर्ण खेलाडी पनि गुमाउन पुग्यो।
याया सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाएपछि चेकियाविरुद्ध उनीहरू उपलब्ध हुने छैनन्। मेक्सिकोविरुद्ध दक्षिण अफ्रिकाको प्रदर्शन निराशाजनक रह्यो। दक्षिण कोरियाले तीन प्रहार मात्र गर्न सक्यो भने अपेक्षित गोल ०.०७ थियो। विपक्षीको पेनाल्टी क्षेत्रभित्र दक्षिण अफ्रिकाले दुईपल्ट मात्र बल पुर्यायो। यी तथ्यांकले अफ्रिकाको सबैभन्दा कमजोर विश्वकप खेलका रूपमा विश्लेषण गरेको छ। मेक्सिकोको उच्च प्रेसिङ रणनीतिले दक्षिण अफ्रिकालाई लगातार दबाबमा राख्यो। दुवै गोल त्यही दबाबबाट सिर्जना भए। दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुस र कप्तान गोलकिपर रोनवेन विलियम्सको आलोचना पनि भयो। तर टोलीका अर्का गोलरक्षक रिकार्डो गोसले प्रशिक्षकको खुलेर बचाउ गरेका छन्। ‘ब्रुसप्रति खेलाडीहरूको विश्वास कायम छ। टोली उनको लागि लड्न तयार छ। हामी सक्दो प्रयास गर्नेछौं,’ रिकार्डोले भने।
चेकियासँग पराजित भए र कोरियाले मेक्सिकोसँग हार टार्यो भने दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिन सक्नेछ। इतिहासले भने दक्षिण अफ्रिकालाई केही आशा दिएको छ। विश्वकपमा युरोपेली टोलीविरुद्ध खेलेका पछिल्ला चारमध्ये उनीहरूले एक खेल मात्र गुमाएका छन्।
सन् २०१० को विश्वकपमा फ्रान्सलाई २–१ ले हराउँदै विश्वलाई चकित बनाएको सम्झना अझै ताजा छ। चेकियाको अनुभव भने अफ्रिकी टोलीविरुद्ध सुखद छैन। उसले अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध एक मात्र विश्वकप खेल २००६ मा खेलेको थियो। घानासँगको त्यो खेलमा चेकियाले २–० को हार बेहोरेको इतिहास छ। दुवै टोलीबिचको इतिहास पनि निकै सीमित छ। चेकिया र दक्षिण अफ्रिका एक पटक मात्रै आमनेसामने भएका छन्। सन् १९९७ को कन्फेडेरेसन कपमा भएको त्यो खेल २–२ को बराबरीमा टुङ्गिएको थियो।
एक तथ्यांकले भने चेकियालाई बलियो दाबेदार मानेको छ। चेकियाले ५४.९ प्रतिशत खेल जित्न सक्ने अनुमान छ। दक्षिण अफ्रिकाको जितको सम्भावना २१.८ प्रतिशत मात्र छ। बराबरी हुने सम्भावना २३.३ प्रतिशत देखिन्छ। तर विश्वकपमा तथ्यांकले मात्र खेल जित्न सकिँदैन। बिनादबाब र अवसरको सदुपयोगले नै टोलीलाई विजयी बनाउन सक्छ। एटलान्टामा हुने यो भिडन्तमा दुवै टोलीका लागि एउटै लक्ष्य हुनेछ, विश्वकपको सपना अझै जीवित राख्ने।
प्रकाशित: ४ असार २०८३ ०९:०७ बिहीबार





