६ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

रोनाल्डो: छैटौं विश्वकपमा ‘गोल्डेन बिदाइ’ को खोजी

पोर्चुगिज फुटबलका आइकन क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको अन्तिम र सबैभन्दा महत्त्वाकांक्षी सपना पूरा गर्ने लक्ष्यका साथ बुधबार विश्वकप २०२६ को यात्रा सुरु गर्दैछन्।

ह्युस्टनमा हुने समूह ‘के’ को पहिलो खेलमा पोर्चुगलले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) को सामना गर्नेछ। ४१ वर्षको उमेरमा छैटौं पटक विश्वकप खेल्न लागेका रोनाल्डोका लागि यो प्रतियोगिता आफ्नो खेल जीवनको ‘लेजेन्डरी’ छविलाई पूर्णता दिने अन्तिम अवसर मानिएको छ।

सन् २०२२ को कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँगको हारपछि आँसु पुछ्दै मैदानबाट बाहिरिएका रोनाल्डोले सन् २०२६ को विश्वकप टोलीमा स्थान बनाउँदै फुटबल जगतलाई पुनः चकित पारे।

पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजका अनुसार ४१ वर्ष पुगे पनि रोनाल्डोमा पहिलो पटक विश्वकप खेल्न लागेको खेलाडी जस्तै तीव्रता र उत्साह देखिएको छ।

मार्टिनेजले भने, ‘उनको यो छैटौं विश्वकप हो, तर आन्तरिक रूपमा उनको तीव्रता र भावनात्मक शक्ति हेर्दा यो उनको पहिलो प्रतियोगिता जस्तो महसुस हुन्छ। उनी टोलीका लागि महत्त्वपूर्ण ‘फिनिसर’ हुन्।’

रोनाल्डो हालसम्म पुरुष राष्ट्रिय टोलीका लागि सर्वाधिक २२७ खेल खेल्ने र १४३ गोल गर्ने कीर्तिमानी खेलाडी हुन्। उनले पोर्चुगललाई सन् २०१६ को युरो कप र सन् २०१९ र २०२५ को नेसन्स लिगको उपाधि दिलाइसकेका छन्। तर, विश्वकपको ट्रफी नै उनको खेल जीवनको सबैभन्दा ठुलो र अधुरो सपनाका रूपमा रहँदै आएको छ।

यसअघि सन् २०२४ को युरो कपमा गोल गर्न असफल भएपछि रोनाल्डोको क्षमतामाथि केही प्रश्नहरू उठेका थिए। यद्यपि, प्रशिक्षक मार्टिनेजले उनीमाथि निरन्तर विश्वास देखाउँदै आएका छन्।

टोलीका मिडफिल्डर ब्रुनो फर्नान्डेजले रोनाल्डो टोलीका लागि गर्वको विषय भएको बताउँदै भने, ‘हामी सबै उनीसँगै खेल्न पाएकोमा सम्मानित महसुस गर्छौं र रोनाल्डोसँगै विश्वकप जित्न प्रतिबद्ध छौं।’

पोर्चुगलले यस पटकको विश्वकपमा उत्कृष्ट मिडफिल्ड त्रयी विटिन्हा, जोआओ नेभ्स र ब्रुनो फर्नान्डेजलाई मैदानमा उतार्दैछ। रक्षापङ्क्तिमा म्यानचेस्टर सिटीका रुबेन डियास र गोलरक्षक डियोगो कोस्टाको बलियो साथ रहनेछ।

समूह ‘के’ मा कोलम्बिया र उज्वेकिस्तान जस्ता टोलीहरू रहेकाले पोर्चुगलले पहिलो खेलबाटै प्रभावशाली जित निकाल्ने अपेक्षा गरिएको छ। डीआर कङ्गो भने ५२ वर्षको लामो प्रतीक्षापछि विश्वकपमा पुनरागमन गर्दैछ।

सन् १९७४ मा जाइरेको नामबाट विश्वकप खेलेको यो टोलीका लागि पोर्चुगल विरुद्धको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। रोनाल्डोका लागि भने यो विश्वकप आफ्नो प्रतिष्ठा जोगाउने र विश्व फुटबलको सबैभन्दा ठुलो उपाधि उचालेर सुखद बिदाइ लिने अन्तिम अग्निपरीक्षा हुनेछ।

प्रकाशित: ३ असार २०८३ २०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App