नेपाली क्रिकेटमा उदाउँदो ताराका रुपमा रहेका क्रिकेटर विपिन प्रसाद शर्मालाई गृह जिल्लामा सम्मान गरिएको छ ।
एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको नेपाली टिमका क्याप्टेनसमेत रहेका शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पाएको सफलतासँगै गृह जिल्लामा सम्मानित गरिएको हो ।
नेपाली टिमको कप्तानको रूपमा टिमलाई उपाधि जिताउने नेतृत्वदायी भूमिका निभाएका शर्मालाई कदर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति मदन खड्काको प्रमुख आतिथ्यतामा र सुर्खेत जिल्ला सभापति रमेश कुमार सापकोटा लगायत नेताहरुले एक कार्यक्रम गरी क्रिकेटर शर्मालाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा सम्मान पत्रसहित नगद रकम हस्तान्तरण गरिएको जनाइएको छ ।
सम्मान प्रदान गर्दै रास्वपा सुर्खेतका सभापति सापकोटाले शर्माले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा गौरवका साथ प्रस्तुत गरेको भन्दै उनको खेल जीवनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।
विपिनप्रसाद शर्माको खेल यात्राको प्रारम्भ ट्यालेन्ट हन्टबाट भएको हो । प्रारम्भिक छनोटपछि उनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट खेल्ने अवसर पाएका थिए । लिग खेल्दा उनले दुई पटक प्लेयर अफ द म्याच बन्ने सफलता प्राप्त गरेका थिए । उनको सम्मान कार्यक्रमको संयोजन उनका मामा अर्जुनप्रसाद शर्माद्वारा गरिएको थियो।
सुर्खेतको माटोमा उम्रिएको विपिनप्रसाद शर्मा नेपालको युवा खेलकुद अनुहारका रूपमा स्थापित हुँदै गएका छन् । उनको अनुशासन, निरन्तर अभ्यास र आत्मविश्वासले नेपाली क्रिकेटको भविष्य अझै बलियो बनाउने अपेक्षा गरिएको छ । क्रिकेटर विपिनले आफू गृह जिल्लामा सम्मानित हुँदा खुसी व्यक्त गरे ।
प्रकाशित: ३१ असार २०८२ १५:०२ मंगलबार





