शीर्ष वरीयाताकी एरिना सबलेन्काले ५४ मिनेटमा चीनकी वाङ झिउँलाई पराजित गर्दै सिनसिनाटी ओपनको चौथो चरणमा स्थान बनाएकी छन्। बेलारुसकी साबालेन्काले चीनकी वाङ ६–१ र ६–३ को सहज सेटमा पराजित गरिन्।
सबलेन्काले खेलभर एकपटक पनि ब्रेक पोइन्टको सामना गर्नुपरेन। उनले आठ सर्भिस गेममा जम्मा ६ अंक मात्र गुमाइन् भने १७ विनर्स प्रहार गर्दा पाँचवटा मात्र अनफोर्स्ड एरर गरिन्।
विम्बल्डनको चौथो चरणबाट बाहिरिएपछि र गत साता क्यानडामा सुरुवाती चरणमै पराजित भएपछि सबलेन्काको यो सहज जित हो।
खेलपछि २८ वर्षीया सबलेन्काले एक घण्टाभन्दा कम समयमा जित निकाल्नु आफूका लागि उत्कृष्ट नतिजा भएको बताइन्। उनले आफूमा पूर्ण विश्वास गर्दै धेरै सोचविचार नगरी आक्रामक खेल खेलेको बताइन्।
ग्रान्डस्लाम टेनिस यूएस ओपनको तीनपटक लगातार उपाधि जित्ने लक्ष्यमा रहेकी सबलेन्काले पछिल्ला दुई संस्करणको उपाधि जितिसकेकी छन्। यूएस ओपन आगामी अगस्ट ३० देखि सुरु हुँदैछ। सन् २०१४ मा सेरेना विलियम्सपछि कुनै पनि महिला खेलाडीले न्युयोर्कको यो ग्रान्डस्लाम उपाधि लगातार तीनपटक जित्न सकेकी छैनन्।
यसैबीच, सबलेन्काको विश्व नम्बर एक वरीयता पनि जोखिममा परेको छ। अस्ट्रेलियन ओपनकी विजेता एलेना रिबाकिनाले उनलाई पछ्याइरहेकी छन्। सिनसिनाटी ओपन सुरु हुँदा सबलेन्का र रिबाकिनाबीच ३५४ अंकको अन्तर थियो। रिबाकिनाले सबलेन्कालाई उछिन्न फाइनलसम्म पुग्नुपर्नेछ। सबलेन्का क्वार्टरफाइनल पुगेमा भने रिबाकिनाले उपाधि नै जित्नुपर्नेछ।
सबलेन्काले क्वार्टरफाइनल प्रवेशका लागि चेक गणतन्त्रकी सारा बेजलेकसँग प्रतिस्पर्धा गर्नेछिन्।
मेदभेदेभ तीन म्याच पोइन्ट गुमाएर स्तब्ध
सिनसिनाटी ओपनमा चौथो वरीयताका डानिल मेदभेदेभ भने अमेरिकी खेलाडी ब्रान्डन नाकाशिमासँग नाटकीय रूपमा पराजित भएका छन्।
मेदभेदेभ पहिलो सेटमा ५–२ ले पछाडि परे पनि टाइब्रेकरमा सेट आफ्नो पक्षमा पार्न सफल भएका थिए। दोस्रो सेटमा ५–४ को अवस्थामा नाकाशिमाको सर्भिसमा उनले तीनवटा म्याच पोइन्टसमेत पाएका थिए। तर नाकाशिमाले तीनै म्याच पोइन्ट जोगाउँदै दोस्रो सेटको टाइब्रेकर पनि जिते।
त्यसपछि तेस्रो सेटमा नाकाशिमाले प्रभावशाली प्रदर्शन गर्दै ६–१ को जित निकालेर खेल आफ्नो पक्षमा पारे। उनले मेदभेदेभलाई ६–७ (३–७), ७–६ (७–४), ६–१ ले हराए।
म्याच पोइन्ट गुमाएपछि निराश बनेका मेदभेदेभले कोर्टको पछाडिपट्टि रहेको इलेक्ट्रोनिक बोर्डमा र्याकेट प्रहार गरेका थिए, जसका कारण बोर्ड केही समयका लागि क्षतिग्रस्त भयो। उनले स्क्रिनमा लात्तीसमेत हानेका थिए भने केही माइक्रोफोन पनि ढलाएका थिए। खेलमा उनले ५१ वटा अनफोर्स्ड एरर गरेका थिए।
नाकाशिमाले भने म्याच पोइन्टको अवस्थामा हरेक अंकका लागि संघर्ष गर्ने मानसिकता बनाएको र तेस्रो सेटमा आफ्नो प्रदर्शनबाट निकै खुसी भएको बताए।
प्रकाशित: ३ भाद्र २०८३ १८:४३ बुधबार



-600x400.jpg)

-600x400.jpg)