३ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेइजिङमा रोबोट प्रदर्शनी, १५० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक

चीनका रोबोट निर्माता कम्पनीहरूले व्यापक व्यावसायिक प्रयोगका लागि प्रविधि तयार हुँदै गएको सन्देश दिन बेइजिङमा आफ्ना पछिल्ला रोबोट तथा प्रविधि प्रदर्शन गरेका छन्। लगानीकर्ता र ग्राहकलाई आकर्षित गर्ने उद्देश्यसहित आयोजित विश्व रोबोट सम्मेलनमा चीनको तीव्र रूपमा विस्तार भइरहेको रोबोट उद्योगको क्षमता र चुनौती दुवै प्रस्तुत भएका छन्।

बेइजिङका अधिकारीहरूका अनुसार आइतबारसम्म चल्ने सम्मेलनमा ३०० भन्दा बढी कम्पनी सहभागी छन्। सम्मेलनमा २ हजारभन्दा बढी उत्पादन तथा प्रविधि प्रदर्शनमा राखिएका छन् भने १५० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गरिने बताइएको छ।

अमेरिका र चीनबीच प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला रोबोटिक्स उद्योग पनि दुई देशबीचको नयाँ प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा अघि बढिरहेको छ। चीनमा रोबोटिक्सप्रति लगानीकर्ताको आकर्षणसमेत पछिल्लो समय उच्च बनेको छ।

चीनको चर्चित ह्युमनोइड रोबोट निर्माता युनिट्रीको सेयर सांघाईमा बुधबार कारोबार सुरु भएको पहिलो दिनमै करिब छ गुणाले बढेको छ। खुद्रा लगानीकर्ताबाट कम्पनीको आईपीओमा माग आपूर्तिभन्दा ८ हजार गुणाभन्दा बढी भएको थियो।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका उपमन्त्री सिन गुओबिनले रोबोटिक्स चीनको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण शक्ति बनिसकेको बताएका छन्। राज्यसमर्थित सञ्चारमाध्यमका अनुसार उनले रोबोट उद्योगको विकासलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चीनमा होटलमा खाना पुर्‍याउनेदेखि उत्पादन कारखानाका विभिन्न काममा रोबोटको प्रयोग बढ्दै गए पनि परीक्षण परियोजनाभन्दा बाहिर ठूलो मात्रामा व्यावसायिक प्रयोग भने अझै सीमित छ।

विश्व रोबोट सम्मेलनमा विभिन्न कम्पनीले औद्योगिक तथा ह्युमनोइड रोबोटका फरक–फरक प्रयोग प्रदर्शन गरेका छन्। लेजु कम्पनीले सामानका बाकस तथा साना वस्तु सार्ने र वर्गीकरण गर्ने रोबोट प्रदर्शन गरेको थियो। कम्पनीका अनुसार उसका रोबोट युरोपका केही ठूला कारखाना तथा चीनका अटोमोबाइल उद्योगमा प्रयोग भइरहेका छन्।

रोबोटेरा नामक स्टार्टअपले चिठी तथा पार्सल वर्गीकरण गर्ने ह्युमनोइड रोबोट प्रदर्शन गरेको छ। कम्पनीका अनुसार उक्त रोबोट ९०० देखि १ हजार घण्टासम्म निरन्तर सञ्चालन गर्न सकिन्छ र मानिसको तुलनामा करिब ८५ प्रतिशत प्रभावकारिता हासिल गर्छ।

त्यस्तै, डेक्सफोर्सले मोबाइल फोनलाई बाकसमा प्याक गर्ने ह्युमनोइड रोबोट प्रदर्शन गरेको छ भने सम्मेलनमा मानिसले चढ्न सक्ने विशाल रोबोटिक घोडासमेत आकर्षणको केन्द्र बनेको छ। यूबीटेकले अंग्रेजी भाषा पढाउने र विश्वविद्यालयका परीक्षा केन्द्रमा परीक्षा अनुगमन गर्न सक्ने रोबोटसमेत प्रस्तुत गरेको छ।

विश्लेषकहरूका अनुसार चीनको रोबोट उद्योग केही वर्षअघिको विद्युतीय सवारी उद्योगजस्तै तीव्र प्रतिस्पर्धाको चरणमा प्रवेश गरेको छ। ठूलो संख्यामा कम्पनी बजारमा आएर प्रविधि र लागतका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्।

यस वर्षको पहिलो छ महिनामा विश्वव्यापी ह्युमनोइड रोबोटको बिक्री करिब चार गुणाले बढेर १९ हजार १०० युनिट पुगेको तथ्यांकले देखाएको छ। यस बजारमा चिनियाँ कम्पनीहरूको प्रभाव भने बलियो रहेको छ।

तर रोबोट उद्योगको तीव्र विस्तारसँगै चुनौती पनि देखिएका छन्। रोबोटिक्स विश्लेषक जर्ज स्टिलरका अनुसार यस वर्ष उत्पादन हुने ह्युमनोइड रोबोटमध्ये ५० देखि ७० प्रतिशतसम्म वास्तविक उत्पादनका लागि नभई प्रशिक्षणका लागि आवश्यक तथ्यांक संकलन गर्ने ‘डेटा फ्याक्ट्री’मा प्रयोग हुन सक्ने अनुमान छ।

चिनियाँ कम्पनीहरूबीच लागतमा हुने तीव्र प्रतिस्पर्धाले भविष्यमा उद्योगमा दबाब बढाउन सक्ने भए पनि कम्पनीहरूका प्रतिनिधिले यस्तो प्रतिस्पर्धाले प्रविधिको क्षमता र विकासलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरेका छन्। ह्युमनोइड रोबोट प्रविधि पूर्ण रूपमा परिपक्व भई व्यापक रूपमा प्रयोगमा आउन अझै करिब एक दशक लाग्न सक्ने उद्योग क्षेत्रका जानकारहरूको अनुमान छ। (रोएटर्सको सहयोगमा)

प्रकाशित: ३ भाद्र २०८३ १९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App