२१ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले होर्मुज जलमार्गलाई ‘नयाँ अमेरिकी क्षेत्र’ घोषणा गर्दै पोस्ट गरे नक्सा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ट्रुथ सोसियलमा होर्मुज जलमार्गको नक्सा पोस्ट गर्दै त्यसलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेका छन्।

यसले महत्त्वपूर्ण जलमार्गमाथि अमेरिकाको दाबी गर्ने उनको धम्कीलाई थप बल दिएको छ। इरानले फेब्रुअरी अन्त्यमा अमेरिका र इजरायल मिलेर सुरु गरेको युद्धको जवाफमा विश्वको करिब पाँचौं भागको तेल जान्ने यो साँघुरो मार्ग बन्द गरेको छ।

ट्रम्पले पहिलो पटक गत शुक्रबार यसलाई अमेरिकी क्षेत्र बनाउने कुरा उठाएका थिए। उनले हँसिलो शैलीमा चाँडै घोषणा गर्ने बताएका थिए। जवाफमा इरानले यो जलमार्ग इरानी नै रहने बताएको थियो। ट्रम्पले सोमबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दा फेरि यो विचार दोहोर्याएका थिए।

विदेश नीतिमा समस्या झेलिरहेका ट्रम्पले विदेशी भूमि कब्जा गर्ने धम्की दिएको यो पहिलो पटक होइन। सन् २०२५ मा सत्ता फर्केपछि उनले क्यानडालाई ५१ औं राज्य बनाउने, ग्रीनल्याण्ड लिने र गाजा नियन्त्रण गर्ने धम्की पनि दिएका थिए।

फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघि होर्मुज खुला अन्तर्राष्ट्रिय जलमार्ग थियो। इरानले अमेरिका बन्दरगाहको नाकाबन्दी हटाउने, तेल प्रतिबन्ध खोल्ने, जमेको सम्पत्ति फिर्ता दिने र युद्ध क्षतिपूर्ति दिने जस्ता माग पूरा नगरेसम्म जलमार्ग नखोल्ने बताएको छ।

अमेरिका-इरान वार्तामा मध्यस्थ कतारले मंगलबार भनेको छ इरान र ओमानबिचको सम्झौताले युद्ध अन्त्यको वार्ता सहज बनाउन सक्छ। कतारी प्रवक्ता माजेद अल अन्सारीले ओमान-इरान सम्झौताको प्रतीक्षा गरिरहेको बताए।

यसअघि इरानका वार्ताकार मोहम्मद बागेर गालिबाफले अमेरिका नौसेना नाकाबन्दी नहटाएसम्म जलमार्ग नखुल्ने स्पष्ट पारेका थिए। ट्रम्पले भने ओमानले बाधा पुर्‍याए बम हान्ने धम्की दिएका छन्। उनका अनुसार अहिले इरानसँग कुनै वार्ता चलिरहेको छैन र जलमार्ग खुला छ। एजेन्सी

प्रकाशित: ३ भाद्र २०८३ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App