३ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

जिल्ला पूर्वाधार विकास कार्यालय  झापाले गत आर्थिक वर्षमा विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ। कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ।

कार्यालयका अनुसार गौरादह नगरपालिका-१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका-५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका-८ र ९ स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।

त्यस्तै, कचनाकवल गाउँपालिका-७ स्थित साविक बालुवाडी-९ र वडा नं ३ जोड्ने बालुवा खोलामा, बिर्तामोड नगरपालिका-२ र कनकाई नगरपालिका-९ जोड्ने स्थानमा तथा बाह्रदशी गाउँपालिकाको कटहरडाँगी जाने बाटोअन्तर्गत अदुवा खोलामा पनि झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

यसैगरी, गत आवमै मेचीनगर नगरपालिका-४ र भद्रपुर नगरपालिका-९ जोड्ने फुलबासा खोलामा ५० मिटर लामो मोटरेबल सडक पुल निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख महतोले जानकारी दिए।

पूर्वाधार निर्माणतर्फ कार्यालयले गत आवमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ। यस्तै, ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान र ९०० मिटर सडक मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ। गत आवका लागि कार्यालयलाई रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार बजेट विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ।

कार्यालयका अनुसार पुल तथा सडक निर्माणका यी कामले जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन योगदान पुर्याएको छ। रासस

प्रकाशित: ३ भाद्र २०८३ ०९:३५ बुधबार