३ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भाइरल ज्वरोले थलिएका भाँडेका स्थानीयहरुले पाए घर-घरमै उपचार

दैलेखको नौमुले गाउँपालिका-३ भाँडेमा एक सातादेखि भाइरल ज्वरोका स्थानीयहरु थलिएो समाचार ‘नागरिक दैनिक’ मा प्रकाशित भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार सुरु गरेको छ।

द्वारी स्वास्थ्यचौकी तथा आसपासका स्वास्थ्य संस्थाबाट खटिएको टोलीले बिहीबारदेखि बिरामीको घरघरमै पुगेर उपचार सेवा दिन थालेको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको उपचारका लागि स्वास्थ्य टोली खटाइएको जानकारी दिएका छन्।

उनका अनुसार बालुवाटार स्वास्थ्यचौकी, द्वारी स्वास्थ्यचौकी र नौमुले प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीहरू परिचालन गरिएका हुन्। टोलीलाई बिरामीको स्वास्थ्य परीक्षणसँगै बस्तीको समग्र अवस्थाबारे प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ।

कूल ८२ घरधुरी रहेको भाँडे गाउँका कम्तीमा १८ घरधुरीमा भाइरल ज्वरोका बिरामी रहेको स्थानीयले बताएका छन्। भाँडेअन्तर्गतका ठूलो चम्लाए, निर्गा, भावसैनी र भित्री खोला लगायतका बस्तीहरूमा ज्वरोको प्रकोप बढी देखिएको छ।

हाल द्वारी स्वास्थ्यचौकीका जगतप्रसाद कोइरालाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाउँमा खटिएको छ। नौमुलेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक १६ देखि १८ जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्।

गाउँमै स्वास्थ्यकर्मी पुगेपछि स्थानीयले ठूलो राहत महसुस गरेको स्थानीय अगुवा गङ्गाराम सापकोटाले बताए। ‘एक सातादेखि गाउँभरि ज्वरोका बिरामी थलिएका थिए, तर नियन्त्रणमा आउन सकेको थिएन,’ सापकोटाले भने, ‘गाउँमै स्वास्थ्य टोली आएपछि स्थानीयले राहतको सास फेरेका छन्।’

भौगोलिक रूपमा विकट मानिने भाँडेका स्थानीयलाई उपचारका लागि नौमुले बजार पुग्न करिब तीन घण्टा र द्वारी स्वास्थ्यचौकी पुग्न झन्डै दुई घण्टा पैदल हिँड्नुपर्छ। निरन्तरको वर्षाका कारण ग्रामीण सडक बिग्रिएकाले बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान निकै सास्ती हुँदै आएको थियो।

भाँडेस्थित कागते स्वास्थ्य इकाइ विगत एक वर्षदेखि बन्द रहेका कारण गाउँलेहरू सामान्य उपचारबाट समेत वञ्चित हुँदै आएका थिए।

गाउँमा ज्वरो फैलिएको खबर प्राप्त हुनासाथ स्वास्थ्यकर्मी पठाइएको र आवश्यकता अनुसार चिकित्सकसहितको टोली थप परिचालन गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिए।

प्रकाशित: ३ भाद्र २०८३ १८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App