चीनले समूह ‘बी’ को पहिलो खेलमा बंगलादेशमाथि २–० को जितसँगै एएफसी महिला एसियन कप उपाधि रक्षा गर्ने यात्रा सुरु गरेको छ।
चीनको उपाधि यात्रामा वाङ सुआङ र झाङ रुईले गोल गर्दै आफ्नो देशलाई सुखद सुरुआत दिलाए तर पश्चिम सिड्नी स्टेडियममा उत्साहले भरिएको दर्शकमाझ युवा टोली बंगलादेशविरुद्ध जित निकाल्न चीनका लागि सजिलो थिएन। बंगलादेश टोलीको फिफा वरीयता चीनभन्दा करिब एक सय स्थान तल छ। त्यसैले बलियो टोली चीनविरुद्ध बंगलादेशले अप्रत्याशित नतिजा दिलाउन सकेन। यसअघि यसै समूहको खेलमा तीनपल्टको विजेता उत्तर कोरियाले उज्बेकिस्तानमाथि ३–० को सहज जित दर्ता गर्यो। म्योङ यु जोङले ह्याट्रिक पूरा गरेपछि उत्तर कोरिया सहजै हाबी भयो। सन् २०१० पछि उत्तर कोरियाको यो पहिलो महादेशीय प्रतियोगिता हो। चीनले चार वर्षअघि मुम्बईमा दक्षिण कोरियालाई हराउँदै आफ्नो नवौं एसियन कप उपाधि उचालेको थियो।
चीन महादेशीय महिला फुटबल प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टोली मानिन्छ तर पछिल्ला समयमा उनीहरूले संघर्ष गरेका छन् र अस्ट्रेलियाली प्रशिक्षक एन्टे मिलिसिकको नेतृत्वमा पुनः आफ्नो गौरव दिनहरू फिर्ता ल्याउने प्रयासमा छन्। बंगलादेशविरुद्धको खेल अपेक्षाभन्दा कठिन रह्यो। बंगलादेश टोलीले निडरतापूर्वक प्रदर्शन गर्यो। स्टार खेलाडी रितु पोर्ना चक्माको उत्कृष्ट सट सफल हुन नसक्दा चीनका लागि थप सहज भयो। उनको सट चेन चेनले उत्कृष्ट बचाउ गरिन्। तीव्र र आक्रामक शैलीमा खेल्दै चीनले धेरै अवसर सिर्जना गर्यो तर चीनले गोल गर्नसम्म प्रतीक्षा गर्नुपर्यो। पहिलो हाफको अन्त्यमा वाङको लामो दूरीको सट गोलमा परिणत भयो।
त्यसपछि झाङ रुईले पेनाल्टी बक्सबाहिरबाट दोस्रो गोल गर्दै बंगलादेशलाई स्तब्ध बनाइन् तर इङ्ल्यान्डका प्रशिक्षक पिटर बटलरको नेतृत्वमा अन्डरडग्स बंगलादेश हार मान्न तयार भएनन् र चीनको निरन्तर खतरा बावजुद थप गोल रोक्न सक्षम रह्यो। उत्तर कोरियाले उज्बेकिस्तानविरुद्ध दबदबा कायम राख्यो। प्रारम्भमै दबाब बनाउँदै उनीहरूले पहिलो गोल छिट्टै गरे । खेलको १० मिनेटमै उज्बेकिस्तानका गोलकिपर घाँटीको चोटका कारण प्रभावित भयो। त्यसअघि म्योङले छैटौं मिनेटमा गोल गरेकी थिइन्। उनले दोस्रो गोल पेनाल्टीबाट गरेकी हुन्। ४१औं मिनेटमा अर्को पेनाल्टीमार्फत उनले ह्याट्रिक पूरा गरिन्।
दोस्रो हाफ प्राय उत्तर कोरियाले उज्बेकिस्तानको क्षेत्रमा नै दबाब बनाइ रह्यो तर उज्बेकिस्तान राम्रो बचाउ गर्दै क्षति कम गर्न सफल भयो। एसियाको सबैभन्दा सफल महिला टोलीमध्ये एक उत्तर कोरिया सन् २००१, २००३ र २००८ को उपाधि यात्रा दोहोर्याउने प्रयास छ तर सन् २०१५ विश्वकप छनोटमा डोपिङ परीक्षण असफल हुँदा उत्तर कोरिया प्रतिबन्धमा पर्यो। कोभिड १९ महामारीका कारण २०१९–२०२३ सम्म खेल नभएपछि उत्तर कोरियाको उत्कृष्ट लय प्रभावित हुन पुथ्यो।
प्रकाशित: २० फाल्गुन २०८२ ०८:०६ बुधबार





