निर्वाचन आयोग २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ।
आयोगले निर्वाचन आचारसंहिताको दफा ३२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखको जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको जनाएको छ।
मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म (२०८२ फागुन १८ गते राति १२ बजेदेखि २०८२ फागुन २१ गतेसम्म) आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको सूक्ष्म अनुगमन गरिने आयोगले जनाएको छ ।
विशेषगरी आचारसंहिताको दफा १७ अन्तर्गत मतदानपूर्वको निषेध अवधिमा पालना गर्नुपर्ने तथा दफा १८ बमोजिम मतदानको दिन पालना गर्नुपर्ने आचरणको कडाइका साथ कार्यान्वयन गराइने आयोगले जनाएको छ।
यदि निर्वाचन आचारसंहिता वा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका गतिविधि भएको पाइएमा सम्बन्धित कानुनअनुसार जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।
साथै प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र आचारसंहिता विपरीतका गतिविधि नगर्न तथा नगराउन आयोगले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालासँग अनुरोध गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ १६:५३ सोमबार





