हिमाली जिल्ला मनाङमा कांग्रेसले जित हासिल गरेको छ। मनाङमा कांग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङ विजयी भएका छन। योपटक समेत गरेर गुरुङको संसदमा तेश्रो सहभागिता हो।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङले २ हजार ४ सय १५ मत पाएका छन्। उनका प्रतिश्पर्धी नेकपाकी यशोदा गुरुङले ४ सय ५४ मत मात्र पाएकी छिन्। तेश्रो भएको मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले जम्मा ९ मत पाएका छन। जिल्लामा ७ हजार मतदाता रहेकोमा २९ सय २३ मत खसेको थियो।
विजयी भएका गुरुङको संसदमा तेश्रोपटकको सहभागिता हो। उनले यसअघि २०७० को संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए। त्यस्तै २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए। योपटक समेत गरेर उनको संसदमा तेश्रो सहभागिता हो।
यो पटक मनाङमा कांग्रेस, एमाले र राप्रपाका तर्फबाट टेकबहादुर एक्ला उम्मेदवार थिए। उम्मेद्वारी दिने बेलामा एमालेका पोल्देन छोपाङ गुरुङले पनि उम्मेदवारी दिएका थिए। तर, पछि टेकबहादुरलाई समर्थन गरेका थिए। राप्रपाका कुविरसिंह गुरुङले पनि टेकबहादुरलाई नै समर्थन गरेका थिए।
‘हामी वैचारिक रुपमा फरक दलका नेता भएपनि पारिवारिक सम्बन्धका कारण सम्बन्ध राम्रो छ। फरक राजनीतिक दल भएपनि मिलेर मनाङको विकास गर्ने हो। त्यही भएर हामी एकअर्का विरुद्ध लाग्दैनौ,’ टेकबहादुरले भने, ‘मनाङलाई नमूना जिल्ला बनाउनका लागि हामी सबैको हातेमालो चाहिन्छ। त्यसैमा हामी रमाउँछौ।’
भौगोलिक रुपमा भन्दा पनि जनसंख्याका हिसाबले सानो जिल्ला भएकोले यो वा त्यो दल भनेर बस्न नहुने उनले बताए। त्यही भएर मिलेर अघि बढ्ने गुरुङको भनाई छ। ‘विचार र सिद्धान्त फरक भएपनि हामी नमिलेसम्म विकास हुँदैन। जिल्लाका जनतासम्म विकासको पहुँच पुर्याउनु छ भने मिलेर अघि बढ्नुपर्छ भनेर हामी लागिपरेका हौं,’ उनले भने।
हिमाली जिल्ला मनाङ विकास र पहुँचका हिसाबले पछाडि परेकोले यसलाई गति दिनका लागि आफ्नो भूमिका रहने उनले बताए। ‘मनाङसम्म मोटरबाटोले त छोएको छ। तर,यसलाई कालोपत्रे गर्न जरुरी छ। जितपछि मेरो पहिलो भूमिका नै बेशीसहर–चामे सडकलाई कालोपत्रे गर्नका लागि हुनेछ,’ उनले भने। त्यसबाहेक मनाङका जलविद्युत, पर्यटन, कृषि, जडिबुटीका हिसाबले पनि अब्बल भएकोले त्यही अनुसार नीतिगत रुपमा काम गर्न जरुरी रहेको उनले बताए।
उनका अनुसार जिल्लाबाट १३ सय मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने क्षमता छ। अहिले पनि झन्डै २ सय मेगावाट विद्युत उत्पादन हुने गरेको उनले सुनाए। जलविद्युतबाहेक जडिबुटिको हिसाबले पनि जिल्ला अब्बल छ। यार्सागुम्बा, पाँचऔले लगायतका जडिबुटी यहाँ पाइन्छ। त्यसैगरि विश्वको उत्कृष्ट १० भित्र पर्ने अन्नपूर्ण फेरोको पदमार्गलाई वैकिल्पक पदमार्ग दिनका लागि पनि आफले पहल गर्ने उनले सुनाए। मनाङलाई नमूना जिल्लाको रुपमा परिचित गराउनका लागि आफु लागिपर्ने उनको अठोट छ।
२०७० मा संविधानसभा निर्वाचनमा समेत टेकहादुरले जित हासिल गरेका थिए। त्यो बेला उनी श्रम राज्यमन्त्री समेत बनेका थिए। त्यसपछि २०७४ मा भने टेकबहादुरलाई हराउँदै एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभामा विजयी बनेका थिए। २०७९ मा मा फेरि पोल्देनलाई नै हराउँदै टेकबहादुर नै विजयी बनेका थिए।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:५४ शुक्रबार





