जेनिशा विश्वकर्मा नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको कप्तानमा पुनः नियुक्त भएकी छन्। एनभिएले शुक्रबार सामाजिक सञ्जाल मार्फत जेनिशालाई कप्तानीको जिम्मेजारी दिएको जानकारी दिएको हो।
उनी न्यु डायमन्ड स्पोटर्स क्लबबाट व्यावसायिक भलिबल खेल्दै आएकी छन्। जेनिशाले गत वर्ष माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु–२० च्याम्पियनसिपमा पनि टोलीको नेतृत्व गरेकी थिइन्। त्यतिबेला नेपालले कांस्य पदक जितेको थियो।
एनभिएको केन्द्रीय कार्यसमितिले मुख्य प्रशिक्षक कुमार राईको नेतृत्वमा रहेको प्रशिक्षण टोलीको सुझाव अनुसार जेनिशालाई कप्तानी जिम्मेवारी दिएको हो। टोलीले आगामी कात्तिक १७ देखि २४ सम्म श्रीलंकाको कोलम्बोमा हुने काभा यु–१९ च्याम्पियनसिपका लागि तयारी गरिरहेको छ।
टोली असोज १ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा प्रशिक्षण गरिरहेको छ। नेपाली टोलीमा जेनिशा विश्वकर्मा (कप्तान), भावना तामाङ, मीना सुनार, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झाना नेपाली, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ र विनिता राना छन्।
प्रकाशित: १ कार्तिक २०८२ ०७:४४ शनिबार





