२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

बलियो टोलीविरुद्ध खेल्न कप्तान उत्साही

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्नो प्रतिद्वन्द्वी बंगलादेश बलियो टोली रहेको र यो खेलका लागि उत्साही रहेको बताएका छन्।

नेपालले बंगलादेशसँगका दुई वटा मैत्रीपूर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दै छ। शुक्रबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले जहिल्यै पनि बंगलादेशसँग खेल्दा प्रतिस्पर्धात्मक खेल हुने गरेको बताएका छन्। तर पनि शनिबार हुने खेलका लागि आफूहरू तयार रहेको उनको भनाइ छ। विपक्षी यस्तो छ भनेर आफू रेट गर्न नचाहने तर बंगलादेशसँग खेल्दा राम्रो प्रतिस्पर्धा हुने उनको विश्वास छ। उनले बंगलादेश बलियो टोली रहेको र प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरेका छन्।

पछिल्लो दुई वर्ष घरेलु मैदानमा फुटबल खेल्न नपाउनु दुखद पक्ष रहेको उनको भनाइ छ। तर, लामो समयपछि यो मैदानमा फर्किंदा समर्थकका लागि सुखद पक्ष रहेको र सोहीअनुरूप नतिजा ल्याउने उनले आशा व्यक्त गरे। शनिबार हुने खेलमा दर्शकको पनि राम्रो साथ पाउने उनले आशा व्यक्त गरे। हाम्जा चौधरी जस्ता खेलाडी नभए पनि बंगलादेश बलियो टोली रहेको उनको भनाइ छ।

आफू र नेपालका समर्थक पनि हाम्जालाई हेर्न प्रतीक्षामा रहे पनि त्यो सम्भव हुन नसकेको उनले बताए। इङ्लिस प्रिमियर लिग (इपिएल) को पूर्वक्लब लेस्टर सिटीका स्टार हाम्जा चोटका कारण टोलीमा आबद्ध हुन नसकेका हुन्।

बंगलादेश राम्रो टोली रहेको र तयारी पनि प्रभावकारी रूपमा गरेको कप्तान किरणले उल्लेख गरे। त्यसैले पनि बंगलादेशसँग सजग भएर खेल्ने उनको भनाइ छ। उनले टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाएको उल्लेख गरे तर टोलीको तयारी राम्रो रहेको र घरेलु मैदानमा खेल्न पाउँदा एकदमै खुसी रहेको बताए।

फिफा इन्टरनेसनल विन्डोमा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल मंगलबार हुनेछ। यी खेललाई दुवै टोलीले एएफसी एसियन कप छनोटका बाँकी खेलको तयारीका रूपमा लिएका छन्। एएफसी एसियन कप छनोटको तेस्रो चरणको प्रतिस्पर्धामा नेपालले अक्टोबर महिनामा भियतनामसँग ‘होम एन्ड अवे’ र मलेसियासँग ‘अवे’ लेग खेल्ने तालिका छ।

नेपालका मुख्य प्रशिक्षक म्याट रसका लागि यो पाँचौं खेल हो। उनै रसले बंगलादेशविरुद्ध सकारात्मक नतिजा ल्याउने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले भोलि आफू र आफ्नो टोलीको लक्ष्य जसरी पनि जित निकाल्ने  हुने बताए। प्रशिक्षक रसले आफ्नो फिलोसफी नेपाली फुटबल समर्थकले पहिलो चार खेलमै थाहा पाइसकेको उल्लेख गरे।  

राष्ट्रिय टोलीका उदीयमान स्टार कृतीशरत्न छुन्जु, आयुष घलान र सुमित श्रेष्ठ यो टोलीमा छैनन्। यी तीनै खेलाडी एएफसी यु–२३ एसियन कप छनोटका लागि ताजकिस्तानमा छन्। नेपालले तीन वर्षअघि पनि बंगलादेशसँग खेलेको थियो। दशरथ रंगशालामा नै भएको पछिल्लो भेटमा नेपालले बंगलादेशमाथि ३–१ को जित हासिल गरेको थियो। तर, पछिल्लो समय बंगलादेश धेरै बलियो हुँदै आएको छ। त्यसैले शनिबार नेपालका लागि सहज हुने छैन।

बंगलादेशी कप्तान जमल भुयाँले नेपालको घरेलु मैदान र समर्थकसामु खेल्न त्यति सहज नहुने बताए। उनले नेपाली टोली विगतका दिनभन्दा झन् निखारिँदै गएको र सिंगापुरविरुद्धको खेलले त्यसको पुष्टि गरेको बताए। उनले त्यति बेला नेपालले वास्तवमै राम्रो फुटबल पस्किएको उल्लेख गरे। त्यसैले पनि नेपालसँग खेल्न बंगलादेशलाई जहिल्यै चुनौतीको विषय हुने र यसपल्ट पनि त्यति सहज नहुने उनको भनाइ छ।

बंगलादेशका मुख्य प्रशिक्षक हाबियर क्याब्रेराले यो मैत्रीपूर्ण खेललाई आफ्नो कमीकमजोरी सुधार गर्ने अवसरका रूपमा लिएको बताए। एएफसीका तीन खेलअघि तयारीस्वरूप नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको र यो कमीकमजोरी सुधार्ने राम्रो मौका हुने उनको भनाइ छ।

उनले नेपाल आउनुअघि पुलिस र फोर्टिस टोलीसँग अभ्यास खेलेको पनि उल्लेख गरे। पाहुना टोली बंगलादेशसँग नेपालको दुई मैत्रीपूर्ण खेलको नतिजा पनि बराबरी भएमा टाइब्रेकरमा निर्णय हुने भएको छ। विजेतालाई ट्रफी प्रदान गर्ने भएकाले दोस्रो खेलमा पनि बराबरी भएमा एन्फाद्वारा टाइब्रेकर मार्फत विजेता घोषणा गरिने भएको हो।

इङ्लिस प्रिमियर लिगको पूर्वक्लब लेस्टर सिटीका स्टार खेलाडी हेम्जा चौधरी, इटालीमा फुटबल खेल्ने फहमिदुल इस्लाम, क्युबा मिचेल र शमित शोमजस्ता स्टार फुटबलर बंगलादेशको २३ सदस्यीय टोलीमा छैनन्। सामान्य प्यारापिट ९ हजार र भिआएपी प्यारापिटमा एक हजार टिकट बिक्री गर्ने एन्फाले उल्लेख गरेको छ।

खेलका लागि टिकट दर भिआइपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ तोकिएको छ। दुवै खेल साँझ ५ः४५ बजे हुने एन्फाले जनाएको छ।  

प्रकाशित: २१ भाद्र २०८२ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App