मानसिक र शारीरिक थकानका कारण इङ्ल्यान्डकी मिली ब्राइट जारी युरोपियन च्याम्पियनसिप (महिला युरो कप) बाट बाहिरिएकी छन्।
नेदरल्यान्ड्सकी भिभियन मिडेमाले लगातार खेलहरूले गर्दा खेलाडीमा धेरै चोटहरू निम्तिन सक्ने बताएकी छिन्। आयरल्यान्डकी क्याटी म्याक केबी मानसिक दबाब र अत्यधिक थकान महसुस लगायतले गर्दा अमेरिकामा सम्पन्न दुई खेलमा अनुपस्थित रहिन्। आफू खेल खेल्न तयार नभएको भन्दै उनले ती खेल नखेलेकी हुन्।
नयाँ प्रतियोगिताहरू लामो समयावधिसम्म सञ्चालन हुने, सिजन पनि लामो समयसम्म रहने र व्यावसायिक लिगमा धेरै समय हुने भएकाले खेलाडीहरूमा यस्ता समस्या देखिँदै आएको छ। केही खेलाडी र प्रशिक्षकहरूले भने बाध्य भएर प्रश्न पनि गर्न थालेका छन्। ‘ज्यादै धेरै हुन कति मात्रा आवश्यक पर्दछ,’ उनीहरूले व्यङ्ग्यात्मक रूपमा भनेका छन्।
‘ओभरलोड’ लामो समयदेखि पुरुष फुटबलमा पनि एक ठूलो मुद्दा बन्दै आएको छ। केही समयअगाडि मात्र नयाँ स्वरूपमा सञ्चालन भएको क्लब विश्वकपमा ३२ टोलीले प्रतिस्पर्धा गरेका थिए। विस्तारित क्लब विश्वकपप्रति पनि धेरैले मत राखेका थिए। लामो समयसम्म यो प्रतिस्पर्धा हुँदा खेलाडीमा असर परेको मतहरू आएका हुन्।
महिलाहरूमा यही मुद्दा फेरि उब्जिएको छ। महिला फुटबल पनि उदय भैरहँदा नयाँ चिन्ताको विषयका रूपमा आएको हो। महिला फुटबलका धेरै प्रतियोगिताहरू बढ्दा अवसरहरू पनि बढ्दै जान्छ। यसले गर्दा उनीहरूले धेरै यात्रासँगै आरामका लागि कम समय पाइरहेको स्पष्ट देखिन्छ।
इन्टरनेसनल फेडेरेसन अफ प्रोफेसनल फुटबलर (फिफप्रो) को महिला फुटबलका लागि ग्लोबल पोलिसी निर्देशक एलेक्स कल्भिनले अन्तर्राष्ट्रिय र क्षेत्रीय क्यालेन्डरहरू बढ्दा खेलाडीहरूमा सन्तुलन कायम राख्न उनीहरूबारे पनि हेरचाह गर्नुपर्ने बताइन्।
‘विकास भइरहेको छ। तर, ती खेलाडीहरू पनि मानसिक र शारीरिक रूपमा सुरक्षित हुन आवश्यक छ। हामीले सधैं उनीहरूबाट धेरै माग गर्न सक्दैनौं,’ उनले भनिन्,‘जब उनीहरूले पर्याप्त मात्रामा आराम गर्छन् तब सुरक्षित हुन्छन्। कसैले खेलाडीलाई आवश्यक पर्ने आराममा हस्तक्षेप गर्न सक्दैनन्। यदि भयो भने हामी आवाज उठाउँछौं।’
जो खेलाडी ठूला राष्ट्रिय टोली र क्लबका लागि खेलिरहेका छन्। उनीहरू नै ‘ओभरलोड’ ले सबैभन्दा धेरै प्रभावित हुने गरेका छन्।
‘मानसिक र शारीरिक रूपमा म आफ्नो सीमामा पुगेकी छु,’ ब्राइटले चेल्सीसँगको आफ्नो सिजनपछि युरो २०२५ बाट बाहिरिने निर्णयबारे भनेकी छन्। अप्रिलमा नेदरल्यान्ड्सबाट नेसन्स लिग खेल्दा ह्यामस्ट्रिङ भएपछि म्यानचेस्टर सिटीकी मिडेमाले सामाजिक सञ्जालमा व्यस्त फुटबल क्यालेन्डरबारे खुलेरै आलोचना गरेकी थिइन्। ‘पटकपटक यसबारे आवाज उठाइरहेको छु। फुटबल क्यालेन्डरबारे जिम्मेवार व्यक्तिले खेलाडीहरूको शारीरिक र मानसिक सुरक्षाका लागि वर्तमान खेलतालिका परिवर्तन गर्न आवश्यक छ। अब त बुझ्ने समय आइसकेको छ,‘ मिडेमाले लेखेकी थिइन्।
आर्सनलकी आइरिस फुटबलर म्याक केबीले गत महिना अमेरिकीविरुद्ध दुई मैत्रीपूर्ण खेलहरूबाट बाहिर रहिन्। ‘म्याक केबीले क्लब र देशका लागि धेरै मिनेट खेलेकी छिन्,‘ आइरिस टोलीका प्रशिक्षक वार्डले भनेका थिए, ‘उनी मानसिक र शारीरिक रूपमा धेरै थकानमा छिन्।’
फिफप्रोले विश्वभरका खेलाडीहरूले खेलिरहेको समयबारे निगरानी गरिरहेको हुन्छ। २०२४ को जुन १ देखि २०२५ जुन १ सम्म (युरोकप २०२५ अघि) स्पेनकी आइटाना बनमटी (५,०४५) र उनकी सहकर्मी मरिओना काल्डेन्टे (४,९७६) ले सबैभन्दा धेरै समय मैदानमा बिताएका छन्। कुल दुई सय ९४ खेलाडीहरूमध्ये सबैभन्दा धेरै मिनेट उनीहरूले खेलेका छन्। काल्डेन्टेले इङ्ल्यान्डको महिला सुपर लिगमा आर्सनलका लागि खेल्छिन्।
दुई पटक बालन डी’ओर जित्ने बनमटी भने बार्सिलोनाका लागि व्यावसायिक फुटबल खेल्छिन्। स्पेनले युरो २०२५ को उपाधिका लागि आइतबार इङ्ल्यान्डविरुद्ध खेल्दै छ। अमेरिकी महिला राष्ट्रिय टोलीका प्रशिक्षक इमा हेयस खेलाडीको आरामबारे चिन्तित हुँदै युरोपमा खेल्नेहरूका लागि अन्तर्राष्ट्रिय विन्डोमा टिमबाट बाहिर राखेकी थिइन्। ती खेलाडीले आफ्नो सिजनमा राम्रो खेलुन् भन्ने उनको उद्देश्य थियो।
‘२०२७ मा विश्वकप छ। यसबीच यी खेलाडीहरूसँग यति खेलहरू छन्। तर यो उनीहरूको अफ सिजन हो,’ हेयसले भनिन्,‘ हामीले उनीहरूलाई जोगाउनु पर्दछ।’ यस समरमा युरोप, अफ्रिका र दक्षिण अमेरिकाका राष्ट्रिय टिमहरूसँग ठूला क्षेत्रीय प्रतियोगिताहरू छन्।
युरो कप २०२५ का साथै अफ्रिका कप अफ नेसन्स र कोपा अमेरिका फेमिनिना यसै समय सञ्चालन भइरहेका छन्। महिला फुटबलको बढ्दो लोकप्रियताका साथ नयाँ प्रतियोगिताहरू देखा पर्दै छन्। पाँच मिलियनको पुरस्कारका साथ पोर्चुगलमा नयाँ प्रतिस्पर्धा सेभन अन सेभन प्रतियोगिता हुँदै छ। यसमा आठ व्यावसायिक क्लब सहभागी हुँदै छन्।
म्यानचेस्टर सिटी र बायर्न म्युनिख जस्ता क्लबले यसमा प्रतिस्पर्धा गर्ने तालिका छ। क्लबको घरेलु लिगसँगै महिला क्लब विश्वकप सन् २०२८ मा हुँदै छ। देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता र महिला च्याम्पियन्स कप पनि अर्को वर्षदेखि आयोजना हुने तयारी छ। यसले महिला खेलाडीमाथि थप भार पर्नेछ। तर, यसबारे कसैले पनि सोचेका छैनन्।
प्रकाशित: १० श्रावण २०८२ ०८:५९ शनिबार