चावहिल स्पोर्ट्स क्लबको ‘ए’ र ‘बी’ दुवै टोली पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
चावहिल ‘ए’ ले कपन भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्यो। चावहिल ‘ए’ का ‘म्यान अफ द म्याच’ राजेश शाही र दीपक लामाले गोल गरे। कपनका ओमले १ गोल गरे। आइतबारै भएको अर्को खेलमा चावहिल ‘ए’ ले सिन्धु स्पोर्ट्सलाई १–० गोलले हरायो। ‘म्यान अफ द म्याच’ सगुन श्रेष्ठले निर्णायक गोल गरे।
चावहिल ‘बी’ ले डिफेन्डिङ च्याम्पियन बौद्ध भेट्रानलाई २–१ गोलले पाखा लगायो। विजेताका ‘म्यान अफ द म्याच’ टीकाराम कार्की र विक्रम कार्कीले गोल गरे। बौद्धका उमेश लामाले १ गोल फर्काए। काठमाडौं महानगरपालिका–७ को आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम फाइटर ‘बी’ पनि क्वार्टरफाइनलमा पुग्यो।
चावहिलमा भइरहेको प्रतियोगितामा फ्रिडम ‘बी’ ले एजे भेट्रानलाई २–१ गोलले पन्छायो। विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ कन्या गुरुङ र राजु तामाङले गोल गरे। एजेका राजन उप्रेतीले सान्त्वाना गोल गरे। यससँगै क्वार्टरफाइनल समीकरण तयार भएको छ।
सोमबार हुने क्वाटरफाइनलमा चावहिल ‘ए’ को भेट बुटवलसँग हुनेछ भने चावहिल ‘बी’ ले कैलालीविरुद्ध खेल्नेछ। अन्य क्वार्टरफाइनल बानेश्वर फ्रेन्डसिप र चितवन भेट्रान तथा फ्रिडम ‘बी’ र हेटौंडाबीच हुनेछन्।
प्रकाशित: २७ आश्विन २०८२ ०६:५२ सोमबार





