२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले ‘टर्पेडो’ प्रहार गरी डुबाइदियो इरानी युद्धपोत, ८० जनाको मृत्यु

फाइल तस्बिर।

हिन्द महासागरमा अमेरिकाले इरानी युद्धपोतमा आक्रमण गरी डुबाइदिएको छ।

अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले अमेरिकी पनडुब्बीबाट ‘टर्पेडो’ प्रहार गरी इरानी युद्धपोत ‘आइआरआइएस डेना’ डुबाइदिएको दाबी गरेका हुन्। उक्त आक्रमणमा परी ८० जना इरानी नौसैनिकको मृत्यु भएको बताइएको छ।

श्रीलङ्काली अधिकारीहरूका अनुसार डुबेको जहाजबाट ३२ जना घाइते सैनिकको उद्धार गरिएको छ। यो इरानी युद्धपोत भारतको विशाखापट्टनममा आयोजित ‘इन्टरनेसनल फ्लीट रिभ्यु–२०२६’ मा सहभागी भएर स्वदेश फर्किदै थियो।

घटना बुधबार बिहान श्रीलङ्काको गाले सहरबाट करिब ४० नटिकल माइल (करिब ७५ किलोमिटर) टाढा अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको हो।

जहाजमा करिब १८० जना नौसैनिक सवार थिए। श्रीलङ्काली नौसेनाले समुद्रमा ‘लाइफ राफ्ट’ तैरिरहेको अवस्थामा फेला पारेको र खोजी कार्य जारी राखेको जनाएको छ।

अमेरिकी रक्षामन्त्री हेगसेथले अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफूलाई सुरक्षित ठानेको इरानी युद्धपोतलाई निसाना बनाइएको प्रस्ट पारे। ‘हामीले टर्पेडो प्रहार गरेर त्यसलाई डुबाइदिएका हौं,’ उनले भने।

अमेरिका–इजरायल र इरानबीच जारी युद्धको यो पाँचौँ दिन हो। अमेरिकाले युद्धपोत डुबाइदिएपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी आधार शिविर र कूटनीतिक नियोगहरूमा आक्रमण तीव्र पारेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवईस्थित अमेरिकी वाणिज्य दूतावासमा इरानले ‘ड्रोन’ आक्रमण गरेको पुष्टि गरेका छन्।

भिडियो फुटेजमा वाणिज्य दूतावासको मुख्य प्रशासनिक भवन नजिकैको पार्किङ क्षेत्रमा ड्रोन खसेर आगलागी भएको देखिएको छ। ‘हामी निकै भाग्यमानी रह्यौं, तर हाम्रा दूतावास र कूटनीतिक नियोगहरू आतंकवादी शासनको सीधा निसानामा परेका छन्,’ रुबियोले भने।

यसैगरी, इरानले कतारस्थित अमेरिकी वायुसेनाको आधार शिविरमा पनि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। कतारले दुईवटा क्षेप्यास्त्रमध्ये एउटालाई आकासमै नष्ट गरेको र अर्को आधार शिविरमा खसे पनि मानवीय क्षति नभएको जनाएको छ।

यता इजरायली सेनाले तेहरानस्थित रिभोलुसनरी गार्ड्सका मुख्यालय, क्षेप्यास्त्र प्रहार गर्ने स्थान र रक्षा प्रणालीहरूमा दर्जनौं आक्रमण गरेको दाबी गरेको छ।

प्रकाशित: २० फाल्गुन २०८२ २०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App