श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी ट्वान्टी विश्वकपको पहिलो संस्करण जित्ने नेपाली महिला टोलीको लक्ष्य अधुरै बनेको छ।
श्रीलंकाको राजधानी कोलम्बोमा आइतबार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएपछि नेपाली महिला टोलीको लक्ष्य अधुरै रहेको हो। पी सारा ओभलमा नेपालले एक सय १५ रनको सामान्य लक्ष्य दिएको थियो। त्यो लक्ष्य भारतले मात्र तीन विकेटको क्षतिमा १२औं ओभरमै पूरा गर्दै पहिलो संस्करणको विश्वकप उपाधि उचालेको हो।
भारतका लागि फुला शरणले सर्वाधिक ४४ रनको अविजित इनिङ खेलिन्। फाइनलकै चार चौका उनले मात्र प्रहार गरेकी थिइन्। के कुमारीले २७ बलमा ४२ रन र बी हान्स्दाले १३ रनको महत्त्वपूर्ण योगदान दिए। नेपालका चारै बलर महँगा साबित भए।
जमुना राई, अनु कुमारी र दिल्लीसरा धमलाले समान एक विकेट लिए। त्यसअघि टस हारे पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर नै खेल्दै पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्यो। भारतीय बलरको कसिलो बलिङसामु नेपालले एउटा पनि बाउन्ड्री प्रहार गर्न सकेन। शीर्ष तीन ब्याटर विनीता पुन ५, मनकेशरी चौधरी ८ र सुष्मा तामाङ ६ रनमै आउट हुँदा नेपालको सुरुआत राम्रो हुन सकेन तर चौथो विकेटका लागि विमला राई र सरिता घिमिरेले ६५ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ सय रनको आँकडा पार गराए। विमला २६ रनमा रनआउट हुँदा सरिता ३५ रनमा नटआउट रहिन्। भारतीय टोलीको बलिङमा ९ बलर प्रयोग गरिएको थियो।
तीमध्ये जमुना रानी र अनु कुमारीले समान एक विकेट लिए। यसै विश्वकपको लिगमा पनि नेपाल भारतसँग ८५ रनले पराजित भएको थियो। फाइनलमा पनि पराजित हुन पुग्यो। नेपालमै भएको सिरिजमा नेपाली टोलीले भारतलाई ३–१ ले हराएको थियो। तर, त्यो लय विश्वकपमा जारी राख्न सकेन। पहिलो संस्करणको विजेता भारतले १५ लाख र नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पाए। श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए। यस विश्वकपमा नेपालका दुई खेलाडी फरकफरक क्याटगोरीमा प्लेअर अफ द सिरिज भए।
‘बी वान’ क्याटगोरीबाट सुष्मा तामाङ र ‘बी टु’ बाट सिरिज मनकेशरी चौधरी प्लेअर अफ दी म्याच भए। उनीहरूले दुवैले ३७ हजार पाँच रुपैयाँ पुरस्कार पाए। यस विश्वकपमा भारतबाहेक सबै टोलीलाई नेपालले पराजित गरेको थियो। सेमिफाइनलमा पनि पाकिस्तानमाथि सात विकेटको जितका साथ नेपाल फाइनलमा पुगेको हो। ६ राष्ट्रले प्रतिस्पर्धा गरेको विश्वकपको अर्को सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई हराएको थियो। नेपाली टोली सोमबार नै घर फर्कदै छ।
प्रकाशित: ८ मंसिर २०८२ ०६:५१ सोमबार




-600x400.jpg)
