विराटनगर किङ्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफमा दाबेदारी कायमै राखेको छ।
कीर्तिपुरमा युवा स्पिनर रञ्जित कुमार र रवि बोपाराको उत्कृष्ट प्रदर्शनमा चितवनले बुधबार विराटनगरको अपराजित यात्रामा पूर्णविराम लगाएको हो। ब्याटिङ र बलिङमा चम्किएपछि चितवनले विराटनगरलाई ४८ रनले हरायो। चितवनको जितमा रविले लगातार तीन अर्धशतक बनाए। युवा स्पिनर रञ्जितले पाँच विकेट लिए। उनी प्लेअर अफ दी म्याच पनि भए। रञ्जितले आफ्ना सिनियरले हौसला दिएकाले पाँच विकेट लिन सफल भएको बताए। ‘सिनियर दाइले आत्मविश्वासका साथ बलिङ गर्न भन्नुभएको थियो। त्यहीअनुरूप आफूले गरेँ। रुमबाट निस्किएदेखि नै आज मेरो दिन हो भन्ने भावना आएको थियो। नतिजा पनि आउँदा खुसी भइयो,’ रञ्जितले भने, ‘यो सफलतामा आमा र गुरुलाई सम्झिएँ।’
यससँगै विराटनगरले चौथो खेलमा पहिलो हार सामना ग¥यो। हारसँगै विराटनगरले प्लेअफमा पुग्ने बलियो सम्भावना गुमाएको छ। दोस्रो सिजनमा अपराजित टोली सुदूरपश्चिम रोयल्स मात्र बाँकी छ।
चितवनको तीन खेलमा दोस्रो जित हो। त्रिवि क्रिकेट मैदानमा चितवनले एक सय ७५ रनको लक्ष्य दियो। जबाफमा विराटनगर १६.५ ओभरमा एक सय २६ रनमै अलआउट भयो। नवौं नम्बरका ब्याटर मार्चन्ट डे लाङ्गेले ३९ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन हो। शीर्ष तीन ब्याटर दोहोरो अंकमा रन जोड्न असफल भए र विराटनगरले खराब सुरुआत गर्यो। ओपनरद्वय लोकेश बम ७, जर्ज मुन्सी ४ र नरेन भट्ट ९ रनमा आउट भए। साम हेजलेट २२ रनमा तेस्रो विकेटका रूपमा पभेलियन फर्किए।
उनी रन्जितको बलिङमा एलबिडब्लु सिकार भए। त्यसअघि सामले ११ बलमा तीन छक्का प्रहार गरे। त्यसपछि बसिर अहमद शून्यमै पभेलियन फर्किए। पावरप्लेमा विराटनगरले ३४ रन जोड्दा चार विकेट गुमायो। त्यसपछि शुभम रन्जाने ६, नारायण जोशी ४ र सूर्य तामाङ शून्यमा पभेलियन फर्किए। १२.१ ओभरमा विराटनगर ६४/८ को नाजुक अवस्थामा पुग्यो। तर, नवौं विकेटका लागि मर्चान्ट र प्रतीश जिसीबीच ३६ रनको साझेदारी गरेपछि विराटनगरले सय रनको आँकडा भेट्टायो। १६औं ओभरमा कमलसिंह ऐरीले मर्चान्टलाई बोल्ड गरे। उनले २२ बलमा दुई चौका र चार छक्का हिर्काए। लगत्तै अर्को ओभर निकै रोमाञ्चक बन्यो।
प्रतीशले यो ओभरमा तीन छक्का र एक चौका हिर्काए। तर, पाँचौं बलमा कुशलले उनलाई बोल्ड गर्दै दशौं विकेट लिए। प्रतीशले १२ बलमा दुई चौका र तीन छक्का हिर्काए। चितवनको बलिङमा रञ्जितले चार ओभरमा २१ रन मात्र दिँदै किफायती बलिङ गरे। कमलसिंह ऐरीले दुई तथा सोहेल तनभिर, सइफ जैब र कुशलले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको चितवन राइनोजले पूरै ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७५ रनको लक्ष्य दियो। अनुभवी ब्याटरको अर्धशतकीय इनिङमा चितवनले राम्रो योगफल खडा गरेको हो। मध्यक्रमका आएका उनले ६५ रनको योगदान दिए। जारी एनपिएलमा उनको तेस्रो अर्धशतक हो। साथै उनी जारी एनपिएलमा सर्वाधिक (१८३) रनकर्ता पनि हुन्।
उत्कृष्ट लयमा रहेका बोपाराले ५२ र ६६ रन बनाएका थिए। ओपनरद्वय दीपक बोहरा ५ र डविड मालन १७ रनमै आउट भए। यससँगै चितवनको सुरुआत राम्रो हुन सकेन। डविडले ९ बलमा तीन चौका प्रहार गरे। तर, पावरप्लेमा दुई विकेट पतन भए पनि चितवनले ४७ रन जोड्यो। तेस्रो विकेटका लागि सइब जैब र देव खनालले ४२ रनको साझेदारी गर्दै इनिङ समाले।
नवौं ओभरमा देव २८ रनमा आउट भए। उनी सन्दीप लामिछानेको बलमा हिजलेटद्वारा क्याच हुन पुगे। देवले २२ बलमा तीन चौका र एक छक्का हिर्काए। सन्दीपले नै सइबलाई पनि पभेलियन फर्काए। सइबले ३० बलमा ३२ रन जोडे। त्यसअघि चौथो विकेटका लागि सइब र बोपाराबीच ४९ रनको अर्को साझेदारी बन्यो।
चितवनले एक सय रनको आँकडा पार गर्यो। सइबको इनिङमा समान एक चौका र छक्का रह्यो। पाँचौं विकेटका लागि पनि बोपाराले कप्तान कुशल मल्लसँग ५६ रनको अर्धशतकीय साझेदारी गर्दै चितवनलाई राम्रो योगफलसम्म पुर्याए। बोपारा १९औं ओभरमा आउट भए। उनले ३८ बलमा तीन चौका र चार छक्का हिर्काए। १४ बल खेलेका कुशल २० रनमा नटआउट रहे। उनले समान एक चौका र छक्का प्रहार गरे। आठ बलर प्रयोग गरेको विराटनगरका लागि कप्तान सन्दीप र मार्चन्ट डे लाङ्गे तथा शुभम रन्जानले एक विकेट लिए। शुभम, प्रतीश जिसी, सूर्य तामाङ र नरेन भट्ट निकै महँगा भए।
मार्चन्ट र सन्दीपले मात्र पूरै चार ओभर बलिङ गरे र अनुशासित पनि रहे। विराटनगरका प्रशिक्षक धमिका प्रसादले ब्याटिङ र बलिङमा राम्रो हुन नसकेको बताए। लक्ष्य धेरै ठूलो नभए पनि विपक्षीले धेरै राम्रो बलिङ गरेको उनले प्रतिक्रिया दिए। साथै उनले चोटका कारण मार्टिन गप्टिल एक हप्ताका लागि बाहिर रहने उल्लेख गरेका छन्। गप्टिल धेरै अनुभवी खेलाडी भएकाले उनी नहुँदा ठूलो क्षति पनि हुने स्वीकार गरे। तर, पनि जित निकाल्न मिहिनेत गर्ने आशा गरेका छन्। उनले नेपाली क्रिकेट माथि पुगेको हेर्ने चाहेको बताए।
प्रकाशित: ११ मंसिर २०८२ ०६:५३ बिहीबार




