२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

एनपिएल: विराटनगरको शीर्ष क्रम फेरि असफल, लुम्बिनी फाइनलमा

दक्षिण अफ्रिकी स्टार फाप डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गप्टिल र अस्ट्रेलिया साम हेजलेट जस्ता स्टारले भरिएको विराटनगर किङ्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा फाइनलको दाबेदारको रूपमा हेरिँदै आएको थियो।

विदेशी मात्र होइन विराटनगरसँग लोकेश बम, बसिर अहमद, प्रतीश जिसी र स्वयम् कप्तान सन्दीप लामिछाने जस्ता क्षमतावान् घरेलु खेलाडी पनि थिए। मध्य क्रममा ब्याटर गर्ने राम्रा अलराउन्डर बसिरका साथै बलिङमा सन्दीप, प्रतीश र सूर्य तामाङ हुनुले स्वाभाविक रूपमा विराटनगरलाई बलियो दाबेदारका रूपमा हेरिन्थ्यो। लिग चरणमा एनपिएलकै सर्वाधिक रन बनाउनु र सुदूरपश्चिम रोयल्स जस्तो टोलीलाई १२औं ओभरभित्रै हराउनुले विराटनगरलाई दाबेदारका रूपमा हेरिनु स्वाभाविक नै देखिन्थ्यो। यद्यपि, शीर्ष क्रम चल्न नसक्दा ब्याटिङमा कोल्याप्स हुनु उसका लागि सबैभन्दा कमजोर पक्ष पनि थियो। यही कारणले नै विराटनगरले लगातार दोस्रोपल्ट फाइनल पुग्ने अवसर गुमाउनु पुग्यो।

कीर्तिपुरमा भएको दोस्रो क्वालिफायरमा विराटनगर बिहीबार लुम्बिनी लायन्ससँग ४० रनले पराजित भएपछि फाइनलमा पुग्न असफल भएको हो। लुम्बिनीले अब उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। विराटनगरको ब्याटिङ शीर्ष क्रममा नै निर्भर रहँदै आएको थियो। शीर्ष क्रम चल्न नसक्दा विराटनगर संकटमा नै पर्ने गर्दथ्यो। प्लेअफका दुई खेलमा विराटनगरले सोही अवस्थामा सामना गर्‍यो। पछिल्लो खेल (पहिलो क्वालिफायर) मा विराटनगर एनपिएलकै सबैभन्दा न्यून (७८ रन) योगफलमा अलआउट भएको थियो। त्यो खराब प्रदर्शनको कारण थियो, शीर्ष क्रम चल्न असफल हुनु। दोस्रो क्वालिफायरमा पनि स्टार ब्याटर सस्तैमा आउट हुन पुगे।

यससँगै सामान्य लक्ष्य पछ्याएको विराटनगर अर्को खराब ब्याटिङ सामना गर्‍यो। यसपल्ट एक सय रन पार गर्न असफल भयो। सामान्य लक्ष्य दिए पनि लुम्बिनीले उत्कृष्ट बलिङ गर्दै विजययात्रा पाँच खेलसम्म जारी राख्यो। विराटनगरका प्रशिक्षक धमिका प्रसादले पिचलाई राम्रो बुझ्न नसक्दा हार बेहोरेको बताएका छन्। ‘अघिल्लो दिन (काठमान्डु गोखार्ज र लुम्बिनीबीच इलिमिनेटर) पहिलो ब्याटिङ गर्नेले संघर्ष गरेको थियो। त्यहीअनुरूप टस जितेपछि बलिङ रोज्यौं। तर, आज पिचले फरक रियाक्ट गर्‍यौं। पिचलाई राम्रोसँग बुझ्न नसक्दा हार बेहोर्नुपर्‍यो,’ उनले भने,‘हारको जिम्मेवारी म आफैं लिन्छु।’ विराटनगर र लुम्बिनी पहिलोपल्ट एनपिएलको प्लेअफमा पुगेका हुन्।

विराटनगर लिगको दोस्रो र लुम्बिनी चौथोमा रहेर प्लेअफमा पुगेका थिए। तर, विराटनगर दुईपल्ट प्रतिस्पर्धा गरे पनि फाइनल पुग्न असफल भयो। दुवै खेलमा विराटनगरले खराब ब्याटिङ गर्‍यो। प्लेअफमा लुम्बिनीले दुई जित निकाल्दा बलिङ तारिफयोग्य नै रह्यो।  लुम्बिनी उपाधिका लागि एक कदम मात्र पछि छ। लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजमाथि चार विकेटको जित निकाल्दै विराटनगरसँग भेट पक्का गरेको हो।

काठमान्डुविरुद्ध उत्कृष्ट बलिङ गरेपछि लुम्बिनी दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। बिहीबार पनि लुम्बिनीले उत्कृष्ट बलिङ लय जारी राख्यो। लिगको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमसँग उत्कृष्ट ब्याटिङ गरेको थियो तर प्लेअफमा भने त्यो लय जारी राख्न सकेन।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो। यस क्रममा विराटनगर ७८ रनमा नै अलआउट हुन पुग्यो। लुम्बिनीसँग पनि विराटनगर ९४ रनमै अलआउट भयो। दुवै खेलमा शीर्ष क्रमले खराब ब्याटिङ गरे।  यद्यपि, लुम्बिनीले पनि ब्याटिङमा निकै संघर्ष गरेको थियो। त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले एक सय ३५ रनको मध्यम लक्ष्य दियो। जवाफमा विराटनगर १७.५ ओभरमा  ९४ रनमा नै अलआउट भयो तर धामिकाले १३५ रनको लक्ष्य चेज हुनुपर्ने भए पनि छिट्टै विकेट गुमेपछि दबाबमा परेको बताए। ‘यो चेज गर्ने खालको लक्ष्य थियो। पावरप्लेमा नै तीन विकेट गयो र ब्याटरले धैर्यता गुमाए। तीन विकेट गएपछि रिकभर गर्न नै सकेनौं,’ धमिकाले भने।

यस सिजनमा विराटनगर लुम्बिनीसँग दोस्रोपल्ट पराजित भएको हो। लिगमा पनि विराटनगर पाँच विकेटले पराजित भएको थियो। मध्यम लक्ष्य पछ्याए पनि विराटनगरले फेरि खराब सुरुआत गर्‍यो। शीर्ष क्रमका चार ब्याटर सस्तैमा आउट भए। पहिलो ओभरमै ओपनर मार्टिन २ र लोकेश शून्यमा आउट भए। नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले पहिलो दुई विकेट लिए। स्पिनर शेर मल्लले दोस्रो ओभरमै अर्का ओपनर फाप डु प्लेसिसलाई पनि ३ रनमै पभेलियन फर्काए। त्यसपछि शंकर राना ७ रनमै आउट भए। यससँगै ६.३ ओभरमा विराटनगर ३०/४ को नाजुक अवस्थामा पुग्यो। पाँचौं विकेटका लागि साम हेजलेट र मार्चन्ट डे लाङ्गेबीच २८ रनको साझेदारी भयो।

तर, १०औं ओभरमा जेजे स्मितले हेजलेटलाई ३४ रनमा क्याच गराउँदै ठूलो सफलता दिलाए। यो विकेटसँगै फेरि विराटनगर समस्यामा पर्‍यो। १५औं ओभरमा मार्चन्ट १७ रन बनाएर आउट भए। तल्लो क्रमका ब्याटर नरेन भट्टले २१ रन जोडे। अन्य ब्याटर सस्तैमा आउट भए र विराटनगर फाइनलमा पुग्न असफल भयो।

लुम्बिनीको बलिङमा तिलक भण्डारीले तीन तथा अभिशेष गौतम, जेजे स्मित र ट्रम्पलमेनले समान दुई र शेर मल्लले एक विकेट लिए। शेरबाहेक सबैले किफायती बलिङ पनि गरे। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी पनि दबाबमा रह्यो। पूरै ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन मात्र जोड्न सक्यो।

ओपनर डार्सी सटले ४५ रन जोड्दै लुम्बिनीको कमजोर ब्याटिङमा साथ दिए। लुम्बिनीको सुरुआत राम्रो हुन सकेन। पहिलो ओभरमै ओपनर दिनेश अधिकारी १ रनमै आउट भए। अर्का ओपनर डार्सीले अर्को छेउबाट इनिङ अगाडि बढाए। उनले दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६९ रनको महत्त्वपूर्ण साझेदारी बन्यो। १२औं ओभरमा रोहित २९ रनमा पभेलियन फर्किए। उनले २२ बलमा चार चौका प्रहार गरे। लुम्बिनीको तेस्रो विकेटका रूपमा डार्सी आउट भए। यी तीनै विकेट सुवास भण्डारीले लिए। १३.५ ओभरमा लुम्बिनी ९०/३ को अवस्थामा थियो। त्यसपछि ट्रम्पलमेनले ११ रन जोडे।

अन्य ब्याटर चल्न सकेनन् र लुम्बिनी सामान्य योगफलमा नै समेटियो। तर, बलिङ चल्दा त्यो नै पर्याप्त भयो। विराटनगरको बलिङमा सुवासले चार ओभरमा तीन विकेट लिँदा १४ रन मात्र दिए। प्रतीशले तीन र कप्तान सन्दीपले दुई विकेट लिए। सन्दीपले चार ओभरमा किफायती बलिङ गर्दै १८ रन मात्र दिए। लुम्बिनीका डार्सी सटले बिना दबाब खेलेको र त्यहीअनुरूप जित पनि प्राप्त भएको बताए। उनले सुदूरपश्चिमविरुद्ध अन्डरडग भए पनि जितेर उपाधि उचाल्ने आशा गरे।  

प्रकाशित: २६ मंसिर २०८२ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App