नेपालको राजनीति प्राय: विभाजनका कथाले भरिएको छ। कहिले जातका नाममा, कहिले क्षेत्रका नाममा, कहिले धर्मका नाममा। राजनीतिले समाजलाई पटकपटक विभाजन गरेको विगत छ। तर यस पटकको निर्वाचनले भने एकताको सुन्दर कथा लेखेको देखिन्छ। मतपेटिकाबाट भोटसँगै एकताको सन्देश आएको छ।
यो निर्वाचनले हिमाल, पहाड र तराईलाई एउटै मालामा उनेर मुलुकलाई नयाँ ढंगले जोडेको संकेत दिएको छ। मतदानको दिनदेखि नतिजा आउने दिनसम्म देशभरका मतदाताले एकताको महत्वपूर्ण सन्देश दिए। उनीहरूले पहिचानको राजनीतिभन्दा माथि उठेर निर्णय गरेको देखिन्छ। उदाहरणका लागि कैलालीको टीकापुरलाई लिन सकिन्छ। त्यो बस्तीमा चौधरी समुदायको बाहुल्य छ। विगतका चुनावहरूमा त्यहाँको मतदान लगभग एउटै ढाँचामा हुन्थ्यो अर्थात् आफ्नै समुदायको उम्मेदवारलाई भोट दिने। तर यस पटक त्यस्तो भएन।
‘यस पटक हामीले चौधरीलाई मात्र भोट हाल्नुपर्छ भन्ने सोचेनौं,’ टीकापुर शक्तिनगरकी प्रमिला चौधरीले भनिन्, ‘हामीले हाम्रो भन्दा पनि राम्रो उम्मेदवारलाई भोट हाल्यौं।’
प्रमिलाको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोमल ज्ञवालीले जितिन्। कैलाली–१ मा ज्ञवालीले नेपाली कांग्रेसका जनकराज चौधरी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामलाला डगौरा थारूलाई पछि पार्दै विजय हासिल गरिन्। यो नतिजा केवल एउटा निर्वाचन क्षेत्रको परिणाम मात्र थिएन। यो एउटा सामाजिक संकेत पनि थियो। जातीय समीकरणले लामो समयदेखि नियन्त्रण गरेको राजनीति परिवर्तनतिर उन्मुख देखियो। कैलाली–१ मा पर्ने टीकापुर लामो समयदेखि जातीय राजनीतिको प्रयोगशालाजस्तै मानिन्थ्यो।
थारू आन्दोलन, टीकापुर घटनापछि बनेको राजनीतिक समीकरण र रेशम चौधरीको उदयलगायत कारणले यो क्षेत्र पहिचानको राजनीतिले निकै प्रभाव पारेको थियो। त्यसैले टीकापुरको नतिजा विशेष रह्यो। रेशम चौधरीको प्रभाव रहेको क्षेत्रमा उनका समर्थक दलहरू तेस्रो र चौथो स्थानमा खुम्चिए।
‘त्यस ठाउँबाट एक पहाडी समुदायकी उम्मेदवार विजयी हुनु केवल चुनावी परिणाम मात्र होइन, सामाजिक मानसिकताको परिवर्तनको प्रमाण पनि हो,’ समाजशास्त्री विदुर लामिछाने भन्छन्, ‘मुलुक जातीयताबाट माथि उठेको संकेत देखिएको छ।’ ‘फुटाऊ र राज गर’ भन्ने पुरातन सोचलाई यो निर्वाचनले फुटेर नभई जुटेर मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिएको उनले सुनाए।
उनको भनाइलाई प्रमिला पनि स्विकार्छिन्। ‘विगतमा हामीले आफ्नै जातलाई प्राथमिकता दिएका थियौं,’ प्रमीलाले भनिन्, ‘तर यस पटक हामीले सोच बदल्यौं।’ यो कैलालीको मात्र कथा होइन, बर्दियामा पनि उस्तै अवस्था देखियो। बर्दियामा पहाडी समुदायको उल्लेख्य मतले थारू समुदायका ठाकुरसिंह थारूलाई जितायो। मतदाताले जातीय पहिचानलाई मात्र आधार बनाएर निर्णय गरिरहेका छैनन् भन्ने यो अर्को उदाहरण बन्यो।
पहिले जातीय प्रतिनिधित्वको प्रश्न महत्वपूर्ण थियो तर अहिले मतदाताले विकास, नेतृत्व क्षमता र वैकल्पिक राजनीतिलाई पनि महत्व दिन थालेका छन्। ‘यो निर्वाचनले समग्र नेपाल जोडेको महसुस भएको छ,’ कागेश्वरी मनोहरा–६ का प्रकाश विष्ट भन्छन्, ‘यस अर्थमा चुनावमा कसले हार्यो भन्दा पनि सिंगो मुलुकले जितेको छ।’ यस्तै सकारात्मक सन्देश मधेस प्रदेशको जितपुर–सिमरामा पनि देखियो। ‘हाम्रो समुदायबाट पनि उम्मेदवार थिए,’ नवीन अधिकारीले भने, ‘तर हामीले जात र धर्मभन्दा माथि उठेर मतदान गरेका छौं।’ बारा–४ बाट रहबर अन्सारीले चुनाव जिते।
यस पटकको निर्वाचनले मधेसको राजनीति पनि हल्लाएको छ। लामो समयदेखि मधेस आन्दोलनका आधारमा स्थापित भएका क्षेत्रीय दलहरूलाई यस पटक ठुलो धक्का लागेको छ। मधेस आन्दोलनका मसिहा मानिने उपेन्द्र यादवको गृह क्षेत्रमा समेत मधेसवादी दलहरू कमजोर देखिए। केही ठाउँमा त सामूहिक रूपमा उनीहरूको पत्तासाफ भएको विश्लेषण भइरहेको छ। मधेस आन्दोलनको केन्द्र मानिएको वीरगन्जबाट प्रदीप यादव पराजित भए भने रास्वपाका हरि पन्त विजयी भए। यो नतिजा केवल राजनीतिक पराजय मात्र थिएन। यो मधेसको मतदाताले दिएको नयाँ सन्देश पनि थियो। मधेस आन्दोलनपछि यो ठाउँमा मधेसी दलका नेताहरूले चुनाव जित्दै आएका थिए।
कतिपयले बालेन्द्र साह मधेसीको छोरा भएकाले चुनाव जितेको भनाइ पनि राखेका छन् तर सर्वसाधारण त्यो मान्न तयार छैनन्। बालेन स्वयंले पनि जनकपुरको भाषणमा ‘मधेसीको छोरो भएकाले होइन, राम्रो मान्छेलाई मत देऊ’ भन्ने भावको अभिव्यक्ति दिएका थिए। ‘ऊ मधेसी भएकाले होइन, हामीले परिवर्तन खोजेका थियौ,’ बारा बकुलियाका रेवन्त चौधरी भन्छन्, ‘त्यसैले हामीले पुरातन दलभन्दा फरक पार्टीलाई भोट हाल्यौं।’ पर्साका केही ग्रामीण बस्तीहरूमा पनि यस्तै परिणाम देखियो। जहाँ पहिले जातीय आधारमा मतदान हुने गथ्र्यो, त्यहाँ यसपटक फरक दृश्य देखियो। थारू बस्तीको भोटबाट चौधरी समुदायका उम्मेदवारहरू पराजित भए भने शाक्य थरका उम्मेदवार विजयी भएका उदाहरणहरू देखिएका छन्। परिणामले यस्तै देखाएको हो।
मतदाता अब पहिचानको सीमित घेराभन्दा बाहिर निस्किरहेका छन्। काठमाडौं उपत्यकामा पनि यस्तै प्रवृत्ति देखियो। ललितपुरको पाटन क्षेत्रमा महर्जन समुदायको बाक्लो बसोबास छ। परम्परागत रूपमा त्यहाँका मतदाताले आफ्नै समुदायका उम्मेदवारलाई समर्थन गर्ने गरेका थिए तर यस पटक त्यो समीकरण बदलियो। ‘हाम्रो महर्जन समुदायका दुई उम्मेदवार एमाले र कांग्रेसबाट उठेका थिए,’ पाटनको भित्री गल्लीमा भेटिएका प्रभात व्यञ्जनकारले भने, ‘तर हामीले खरेल थरका उम्मेदवारलाई भोट हाल्यौं,’ उनले रास्वपाका जगदीश खरेलको विजयतर्फ संकेत गरेका थिए।
उनको भनाइले एउटा रोचक तथ्य देखाउँछ। समुदायभित्रकै उम्मेदवार हुँदाहुँदै पनि मतदाताले अर्को समुदायका उम्मेदवार रोजेका छन्। यस पटकको निर्वाचनले नेपाली समाजमा नयाँ राजनीतिक संस्कारको संकेत दिएको छ। मतदाताले अब पहिचानको सीमित घेराभन्दा बाहिर निस्केर सोच्न थालेका छन् तर यो परिवर्तन एकै पटक आएको होइन। शिक्षाको विस्तार, सामाजिक सञ्जालको प्रभाव र युवा पुस्ताको बढ्दो सहभागिता, परम्परागत दलप्रतिको निराशा वैकल्पिक राजनीतिक शक्तिको उदय यी सबै कारणले मतदाताको सोच बदलिएको समाजशास्त्रीको बुझाइ छ।
समाजशास्त्री पुष्कर फुयाँलका अनुसार यो परिवर्तन निकै महत्वपूर्ण संकेत हो। ‘पहिलो पटक राजनीतिले यति धेरै समाज जोडेको देखें,’ फुयाँलले भने, ‘यो सकारात्मक सन्देश हो।’ उनका अनुसार लोकतन्त्र परिपक्व हुँदै जाँदा मतदाताको सोच पनि बदलिन्छ। ‘पहिले प्रतिनिधित्वको राजनीति आवश्यक थियो तर अब मतदाताले कार्यक्षमता र विचारलाई पनि महत्व दिन थालेका छन्,’ उनले भने, ‘यो सभ्य समाजका लागि सकारात्मक सन्देश हो।’
निर्वाचनको परिणामलाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ। राजनीति अब विभाजनको माध्यम होइन, एकताको साधन बन्नुपर्छ। मतदाताले अब केवल नारामा होइन, व्यवहारमा पनि परिवर्तन देखाउन थालेका छन्। ‘यस पटकको निर्वाचनले नेपाली राजनीतिलाई एउटा नयाँ दिशातिर धकेलेको छ,’ प्रकाश विष्ट थप्छन्, ‘यदि यो प्रवृत्ति निरन्तर रह्यो भने भविष्यमा नेपालको राजनीति अझ समावेशी र परिपक्व बन्न सक्छ। हिमाल, पहाड र तराईलाई जोड्ने राजनीतिक संस्कार बलियो हुन सक्छ।’
प्रकाशित: २६ फाल्गुन २०८२ ०७:१३ मंगलबार




-600x400.jpg)
