२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

एनपिएल: सनसनीपूर्ण जितका साथ विराटनगर प्लेअफनजिक

बसिर अहमदको अविजित अर्धशतकीय इनिङमा विराटनगर किङ्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सनसनीपूर्ण जितसँगै प्लेअफनजिक पुगेको।

कीर्तिपुरमा विराटनगरले शुक्रबार कर्णाली याक्समाथि तीन विकेटको सनसनीपूर्ण जित निकाल्दा बसिरले अविजित अर्धशतकीय इनिङ खेले। पाँचौं खेलमा चौथो जितसँगै विराटनगर प्लेअफनजिक पुगेको छ। १२औं ओभरसम्म विराटनगर ६५/५ को नाजुक अवस्थामा थियो तर, बसिरले ६२ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

कर्णालीको भने चौथो खेलमा तेस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा कर्णालीले एक सय ६१ रनको चुनौतीपूर्ण लक्ष्य दियो। विराटनगरले एक बल बाँकी छँदा नै सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। हारपछि कर्णालीका कप्तान सोमपाल कामीले लगातार गल्तीका कारण हार बेहोर्नुपरेको बताए।

‘नो बल र क्याचहरू ड्रप हुँदा हार सामना गर्‍यौं। क्याच छोड्दा म्याच जित्न सकिन्न। आज हामीले लगातार गल्ती गर्‍यौं र हार सामना गर्नुपर्‍यो। अझै तीन खेल बाँकी छन्। हारको बारे धेरै सोच्दैनौं । बाँकी खेल जित्दै प्लेअफमा पुग्ने लक्ष्य छ।’ १५ओभरसम्म विराटनगर ९४/५ को अवस्थामा थियो। अन्तिम पाँच ओभरमा विराटनगरले ६७ रन जोड्दै जित सुरक्षित गर्‍यो। बसिरले ४३ बलमा ६२ रन बनाए। नारायण जोशीले १६ बलमा २५ रन जोडे। छैटाैं विकेटका लागि बसिर र नारायणले ६९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितनजिक पुर्‍याए। नन्दन यादवले नारायणलाई २५ रनमा आउट गरे। १६ बलमा नारायणले दुई चौका र एक छक्का प्रहार गरे। प्रतीश जिसी र सन्दीप लामिछानेले समान ६ रन जोड्दै बसिरलाई साथ दिए।

विराटनगरको सुरुआत राम्रो हुन सकेन। ओपनरद्वय लोकेश बम ६ र जर्ज मुन्सी शून्यमा नै पभेलियन फर्किए। साम हेजलेट १६ रनमा आउट भए। दबाबमा परेको विराटनगरले पावरप्लेमा ३५ रन जोड्दा तीन विकेट गुमायो। विकेटकिपर साहिल पटेल १९ र मार्चन्ट डे लाङ्गे २ रनमा आउट भए। यससँगै १२औं ओभरमा विराटनगर ६५/५ को नाजुक अवस्थामा पुग्यो तर बसिरले छैटाैं विकेटका लागि बलियो साझेदारी गर्दै जितको आधार बनाए। कर्णालीको बलिङमा गुलसन झा र सोमपालले दुई विकेट तथा पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले समान एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभरमा तीन विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनाएको थियो। ओपनर प्रियान्क पन्चालले ६२ र विलियमले नटआउट रहँदै ४८ रन बनाएर टोलीलाई राम्रो योगफलसम्म पुर्‍याए। प्रियान्कको एनपिएलमा यो दोस्रो अर्धशतक हो।

प्रियान्कले दोस्रो विकेटका लागि बोसिस्टोसँग ९६ रनको साझेदारी गरे। यो जोडीले सुस्त ब्याटिङ गरेपछि कर्णालीले ८७ बलमा एक सय रन पार गर्‍यो। १६.३ ओभरमा प्रियान्क रनआउट भए। प्रियान्कले ४७ बलमा ६ चौका र दुई छक्का हिर्काए। ४८ बल खेलेका बोसिस्टोको इनिङमा दुई चौका मात्र थियो । ओपनर मार्क वाट ६ रनमै आउट भए। पावरप्लेमा कर्णालीले एक विकेटमा ३७ रन मात्र जोड्यो।

त्यसपछि गुल्सनले १० बलमा २० रन जोड्दै आक्रामक ब्याटिङ गरे। उनी सन्दीप लामिछानेको बलमा एलबिडब्लु भए। उनले दुई चौका र छक्का प्रहार गरे। नजिबउल्लाह जादरानले ६ बलमा एक छक्कासहित १२ रन जोडे। विराटनगरको बलिङमा सन्दीप र मर्चान्ट डे लाङ्गेले समान एक विकेट लिए। ६ बलर प्रयोग गरिएको थियो तर अन्य विकेटविहीन रहे। जितपछि विराटनगरका बसिर अहमदले जित दिलाउन सक्छु भन्ने आत्मविश्वासका साथ खेलेको बताए। लगातार विकेट गुम्दा दबाबमा थियौं। केही समय धैर्य गरेँ भने जिताउन सक्छु भन्ने विश्वास थियो। नारायणलाई पनि त्यही भनेको थिएँ र साझेदारी पनि बन्यो,’बसिरले भने,‘१/२ ओभर ठूलो बनाउने लक्ष्यमा थिएँ। त्यसमा सफल पनि भयौं।’

एनपिएलमा घरेलु खेलाडीले पनि राम्रो गर्नुपर्ने उनले धारणा राखे। ‘घरेलु खेलाडीले पनि राम्रो गर्नुपर्छ। आज मैले गर्न सक्दा खुसी छु। अब हरेक टोलीमा एक जना म्याच विनर आउँछ भन्ने विश्वास छ। तीनवटा खेलमा ध्यान दिएर खेल्नेछौं,’ प्लेअर अफ म्याच बसिरले भने।  

प्रकाशित: १३ मंसिर २०८२ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App