२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

भुवनलाई करियरको १३औं उपाधि

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्।

शुक्रबार इभन पार ६८ खेलेका उनले समग्रमा ६ अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन्। उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते। उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो करियरको १३औं उपाधि हो।

समग्रमा २ अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्त रूपमा दोस्रो स्थान हात पारे। सञ्जयले शुक्रबार १ओभर ६९ र दिनेशले ३ ओभर ७१ मा खेल सकाए। उनीहरूले समान ९५ हजार नगद पुरस्कार हात पारे।

समग्रमा १ अन्डर २ सय ७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर नीरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्त रूपमा चौथो स्थान बाँडे। उनीहरूलाई नगद ६३ हजार पुरस्कार वितरण गरियो।

३ अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा २ ओभर २ सय ७४ का साथ तोरणविक्रम शाहीले सातौं स्थान हात पारे। उनले ४७ हजार प्राप्त गरे। इभन पार ६८ खेलेका जयरामले समग्रमा ३ ओभर २ सय ७५ सहित आठौं स्थानमा प्रतियोगिता सकाए। उनले ४१ हजार आफ्नो नाममा लेखाए।

भुवनकुमार रोक्का र टंकबहादुर कार्कीले नवौं स्थान बाँडे। उनीहरूले ३३ हजार ५ सय नगद पुरस्कार पाए।

एमेच्योरतर्फ राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराउँदै उपाधि जिते। महेन्द्र फगामी तेस्रो भए।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।  

प्रकाशित: २ फाल्गुन २०८२ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App