३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा १० लाखको अक्षय कोष स्थापना

चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधनको १३औँ दिनको पुण्यतिथिमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ।

सङ्घले श्रद्धाञ्जली सभाको आयोजना गरी उक्त घोषणा गरेको हो। सङ्घका अध्यक्ष समीर बलामीका अनुसार प्रत्येक वर्ष माघ १८ गते दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिनेछ। साथै सङ्घको वार्षिक उत्सवका अवसरमा ‘स्व दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न अपिल गरे। बोर्डका तर्फबाट ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरिएको छ।

त्यस्तै नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै सिटौलाको योगदानको चर्चा गरे। उनले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकार ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै सिटौलाको योगदान स्मरण गरेका थिए।

स्थापित अक्षय कोषमा विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरूले सहयोग घोषणा गरेका छन्। ओएसआर डिजिटलले ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले २५ हजार, निर्माता सरोज वली र मोहितवंश आचार्यले २५ हजार, षट्कोण आट्र्सले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदीले ११ हजार तथा चलचित्र ‘राम नाम सत्य’ टिमले १० हजार रुपैयाँ सहयोग घोषणा गरेका छन्।

यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट तीन लाख रुपैयाँभन्दा बढी सहयोग सङ्कलन भइसकेको सङ्घले जनाएको छ। प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।   

प्रकाशित: २ फाल्गुन २०८२ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App